• ७ वैशाख २०८१, शुक्रबार

ब्राजिलविरुद्ध क्रोएसियाले विश्वासका साथ खेल्ने

blog

दोहा, मङ्सिर २३ गते । जनसङ्ख्याको हिसाबले ब्राजिल र क्रोएसियाबीच तुलना नै छैन। ब्राजिलको जनसङ्ख्या २० करोड छ भने क्रोएसियाको मात्र ४० लाख। हुन पनि क्रोएसिया यस विश्वकपमा चयन भएको सबैभन्दा कम जनसङ्ख्या भएको राष्ट्रमध्ये एक हो तर विश्व फुटबलमा क्रोएसियाको हैसियत वर्षौंदखि उच्च स्थानमा छ।

स्वतन्त्र राष्ट्र भएर सन् १९९८ मा पहिलो पटक खेलेको विश्वकपमा नै क्रोएसियाले तेस्रो स्थान हात पारेको थियो। रुसमा भएका पछिल्लो विश्कपमा त क्रोएसियाले फाइनल नै खेल्यो। त्यसैले शुक्रबार पाँच पटकको विश्व च्याम्पियन ब्राजिलविरुद्ध खेल्दा क्रोसियाको आत्मविश्वास धरमराउने छैन। प्रशिक्षक ज्लाट्को डालिच भन्नुहुन्छ, “क्रोएसियालाई कहिल्यै कम नआँक्नु। हामी सानो राष्ट्र हौँ तर हामी साहसी र विश्वासिलो छौँ। हामी जहिल्यै आफ्नो पूर्ण क्षमतामा काम गर्छौं। विशेषतः क्रोएसियाको यो पुस्ताका फुटबल खेलाडीमा यो गुण भरपुर छ।”

जापानविरुद्धको प्रिक्वाटरफाइनलमा क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले तीन पेनाल्टी रोक्नुभएको थियो। लिभाकोभिच कप्तान लुका मोड्रिचकै सहरका हुनुहुन्छ। सन् २०१८ मा उहाँ वैकल्पिक गोलरक्षक हुनुहुन्थ्यो। प्रशिक्षक डालिचले आफ्ना गोलरक्षकले तीन पेनाल्टी रोक्नुलाई भाग्य होइन, सबल मानसिकता हो भन्नुभयो। यही हाम्रो गुण र साहस हो, उहाँको भनाइ छ। सन् २०१८ मा फाइनलमा पुग्ने क्रममा क्रोएसियाले प्रत्येक खेलमा पछाडि परेर पनि जित हात पारेको छ। यस विश्वकपमा पनि क्रोएसियाले क्यानडा र जापानसँगको खेलमा पुनरागमन जित हात पारिसकेको छ। हामी राष्ट्रको प्रतिनिधित्व गर्दा फरक हुन्छौँ। यही राष्ट्रियता हो, डालिचको भनाइ छ।

पछिल्लो संस्करणमा फाइनल खेलेका एघारमध्ये पाँच खेलाडी मात्र अहिले क्रोएसियाको टिममा रहेका छन् तर अनुभवी र युवा मिश्रित यो टिम अहिले पनि खतरनाक छ। विश्वकपअघि नेसन्स लिगमा फ्रान्स, डेनमार्कजस्तो टिमलाई हराइसकेकोले पनि ब्राजिल सतर्क हुनुपर्ने अवस्था छ। क्रोएसियाका लागि १५० भन्दा बढी खेल खेलिसकेका मोड्रिचले ब्राजिलविरुद्धको खेलमा प्रेरणादायी खेल देखाउने प्रयास गर्नुहुनेछ। टोटनह्यामका स्ट्राइकर इभान पेरिसिच र चेल्सीका मिडफिल्डर मारियो कोभासिचमा पनि निर्णायक बन्ने क्षमता छ। क्रोएसियामा डेजान लोभर्न र एन्द्रिज क्रामारिचजस्ता अन्य अनुभवी खेलाडी हुनुहुन्छ। क्रोएसियाका जोस्को ग्वार्डियोल यस विश्वकपमा स्टारका रूपमा उदाउनुभएको छ।

यसैगरी समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग हारे पनि ब्राजिल अहिले पनि विश्वकपको प्रमुख उपाधि दाबेदार हो। सर्बियासँगको पहिलो खेलमा घाइते भएका नेमार नकआउटमा फर्किसक्नुभएको छ। नेमारबिना स्विट्जरल्यान्ड र क्यामरुनसँगको खेलमा प्रभावहीन देखिएको ब्राजिल आफ्ना प्रमुख खेलाडीको पुनरागमनसँगै प्रिक्वाटरफाइनलमा दक्षिण कोरियालाई ४–१ ले हराएर आफ्नो पुरानै लयमा फर्किसकेको छ। नेमारले आफ्नो अन्तर्राष्ट्रिय गोल सङ्ख्या ७६ पु¥याइसक्नुभएको छ। अब ब्राजिलका लागि सर्वाधिक गोलकर्ता पेलेभन्दा नेमार एक गोलले मात्र पछाडि हुनुहुन्छ। यसगरी पेले र रोनाल्डोपछि नेमार ब्राजिललाई लागि तीन फरक विश्वकपमा गोल गर्ने खेलाडी बनिसक्नुभएको छ। 

क्रोएसियाविरुद्ध ब्राजिलले अहिलेसम्म खेलेका चारै खेल हारेको छैन। सन् २०१८, जुनमा भएको मैत्री खेलमा यी दुई टिमबीच पहिलो पटक भिडन्त भएको थियो। जसमा ब्राजिल २–० ले विजयी बनेको थियो। दक्षिण अमेरिकी टिम ब्राजिल नवौँ पटक विश्वकपको सेमिफाइनलमा पुग्न प्रयास गर्दै छ। जर्मनी (१२ पटक) मात्र ब्राजिलले भन्दा धेरै सेमिफाइनमा खेल्ने राष्ट्र हो। क्रोएसिया नकआउट चरणमा सधैँ खतरनाक टिमका रूपमा रहिआएको छ  सन् १९९८ र सन् २०१८ मा समूह चरण पार गरेको क्रोएसियाले दुवै पटक कम्तीमा सेमिफाइनलसम्मएको यात्रा गरेको थियो।

मेसीलाई रोक्न नेदरल्यान्ड्सलाई चुनौती

नेदरल्यान्ड्सका ७१ वर्षीय प्रशिक्षक लुइस भान गालले सुरुवातदेखि नै आफ्नो टिम कतारमा विश्वकप जित्न आएको भन्दै आउनुभएको छ। प्रशिक्षकको दाबीलाई अहिलेसम्म नेदरल्यान्ड्सका खेलाडीले समूह ‘ए’ विजेता बनेर सही साबित पनि गरेको छ। नेदरल्यान्ड्सले अन्तिम १६ मा पनि अमेरिकालाई सजिलै ३–१ ले पराजित गरेको थियो। आयाक्स, बार्सिलोना, एजेड अल्कमार, बायर्न म्युनिख र म्यान्चेस्टर युनाइटेडको प्रशिक्षकका रूपमा भान गालले सात लिग उपाधि जितिसक्नुभएको छ तर राष्ट्रिय टिमका लागि उहाँ अहिलेसम्म उपाधिविहीन हुनुहुन्छ। नेदरल्यान्ड्सकै प्रशिक्षकत्वमा सन् २०१४ मा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराएर फाइनलमा स्थान बनाएको थियो। त्यसपछि नेदरल्यान्ड्सले सो विश्वकपमा ब्राजिललाई ३–० ले हराएर तेस्रो स्थान बनाएको थियो।

सन् १९७४, १९७८ र २०१० मा विश्वकपको फाइनल खेलेको नेदरल्यान्ड्स गत वर्ष विश्वकपमा चयन हुन नसकेकोले अहिले घाइते बाघका रूपमा कतार आएको छ। नेदरल्यान्ड्स अहिले १९ खेलदेखि अपराजित पनि छ, त्यसैले पनि लियोनेल मेसीको टिम अर्जेन्टिनालाई क्वाटरफाइनलमा नेदरल्यान्ड्सको चुनौती पार गर्न सहज हुनेछैन।

नेदरल्यान्ड्सका डिफेन्डर जुरियन टिम्बर मेसीदेखि डराउनुभएको छैन। उहाँलाई विश्वका सर्वश्रेष्ठ खेलाडी मेसीलाई रोक्ने जिम्मेवारी दिइने पक्का छ। मेसीले आफ्नो सम्भवतः अन्तिम विश्वकपमा गज्जबको प्रदर्शन पनि गरिरहनुभएको छ। मेसीले चार खेलमा तीन गोल गर्नुका साथै एक एसिस्ट गर्नुभएको छ। 

यस विश्वकपमा मेसी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता हुनुहुन्छ। त्यसैले नेदरल्यान्ड्सलाई अगाडि बढ्नु छ भने मेसीलाई शान्त पार्नु पहिलो कार्य हुनेछ। नेदरल्यान्ड्सको डिफेन्समा अर्का प्रमुख खम्बा हुनुहुन्छ, कप्तान भर्जिल भान डिक। उहाँले मेसी मात्र होइन, अन्य खेलाडीमा पनि निर्णायक बन्न सक्ने क्षमता छ भन्नुभयो। यसैगरी अर्जेन्टिनाका लागि पनि नेदरल्यानड्का स्ट्राइकर कोडी गाक्पो, डेन्जेल डुम्फ्रिज र मेम्पिस डिपेबाट खतरा हुनेछ। एजेन्सी