• १६ चैत २०८०, शुक्रबार

सडकको ट्र्याक खोल्न प्रतिबन्ध

blog

अमरराज नहर्की

तनहुँ, मंसिर २२ गते । तनहुँको एक पालिकाले सडकको नयाँ ट्र्याक खोल्न प्रतिबन्ध गरेको छ । भिमाद नगरपालिकाले नयाँ सडक ट्र्याक खोल्न प्रतिबन्ध लगाएको हो । चालू आर्थिक वर्षदेखि सडक योजना अन्तर्गत बजेट विनियोजन गरे पनि नयाँ सडक ट्र्याक खोल्ने कार्यक्रम नरहेको नगरपालिकाले जनाएको छ । 

प्रायः सबै गाउँबस्तीमा सडक ट्र्याक पुगिसकेकाले नयाँ ट्र्याक खोल्ने कार्यक्रम नरहेको नगर प्रमुख दधिराज घिमिरेले बताउनुभयो । ‘हचुवाका भरमा खोलिएका नयाँ मोटर मार्गले दिगो विकासको लक्ष्यअनुसार नभई हानी र नोक्सानी गर्नेगरेकाले रोकेका हौँ’ नगर प्रमुख सुवेदीले भन्नुभयो, ‘आम्दानीको स्रोतको रूपमा रहेको खेत डाँडाको माटो खसेर पुरिएको छ ।’ 

पहिले नै खोलिएका सडकलाई नाली खन्ने ग्राभेल गर्ने कार्य मात्रै गरिने नगर प्रमुख सुवेदीले बताउनुभयो । ‘पहिले नै खोलिएका सडकलाई हिउँद वर्षा सबै समय यातायात सुचारु हुनेगरी स्तरोन्नति गर्ने कार्य गरिरहेका छौँ’ नगर प्रमुख घिमिरेले भन्नुभयो ।

सडकमा गरिएको लगानी खेर नजानेगरी पुराना सडकलाई स्तरोन्नति गर्ने नगर प्रमुख घिमिरेले बताउनुभयो । ग्रामीण बस्तीमा यसअघि बनेका सडकलाई विशेष प्राथमिकतामा राखी स्तरोन्नति गर्नेगरी बजेट तय गरिएको नगरपालिकाले जनाएको छ ।

ग्रामीण भेगका सडकसँगै बजारक्षेत्रका सडकलाई पनि स्तरोन्नति गरी व्यवस्थित बनाउने योजना रहेको उपप्रमुख शारदा खनालले बताउनुभयो । स्थानीय तहको बजेट सीमाभित्र निर्माण गर्न सकिने सडकसँगै प्रदेश तथा सङ्घीय सरकारसँगको सहकार्यमा नगरपालिका भित्रका ठूला सडकलाई थप स्तरोन्नति गर्न पहल भइरहेको उहाँले बताउनुभयो ।