• १६ चैत २०८०, शुक्रबार

बेनी बजारमा पुराना धर्म चौतारी मर्मत अभियान

blog

मर्मत सम्भार गरेर चिटिक्क पारिएको बेनी नगरपालिका –७ स्थित बेनीबजारमा रहेको पुरानो चौतारी । तस्बिर : ठाकुरप्रसाद आचार्य

 ठाकुरप्रसाद आचार्य

म्याग्दी, मङ्सिर २२ गते । बेनी बजारमा रहेका वर्षौँ पुराना चौतारीको संरक्षण थालिएको छ । बेनी नगरपालिका ७ को बजार क्षेत्रभित्र रहेका करिब ७० देखि ८० वर्ष पुराना धर्म चौतारीको मर्मत सम्भार गरेर चिटिक्क पारिएको हो । पुराना चौतारीको संरक्षण अभियानमा वडा कार्यालय जुटेको छ । 

‘बाबुबाजेले हिजोका दिनमा धार्मिक पुण्य प्राप्त गर्न बजार क्षेत्रमा धर्म चौतारी चिन्ने, वरपीपल र समीको बिरुवा रोप्ने गर्नुभएको थियो । तिनै चौतारीमा बसेर हामी पनि हुर्कियौँ । बजार क्षेत्रभित्र रहेका करिब १७ वटा चौतारीको मर्मत सम्भार गर्ने योजना वडाले अघि सारेको छ’ बेनी नगरपालिका –७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले भन्नुभयो । 

गाउँबाट बजार झरेका सर्वसाधारणले भारी बिसाउने र बटुवाले थकान मेटाउन पुण्य र धर्मका लागि परम्परागत रूपमा बनाइएका चौतारीहरू संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेका थिए । “चौतारी हाम्रो सभ्यता पनि हो र यसले वातावरणीय सन्तुलन कायम राख्न पनि सहयोग पु¥याउँछ” वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘हाम्रो वडाभित्र मात्रै १७ वटा परम्परागत चौतारी र एक वटा पोखरी छन् । यो वर्ष चार वटा चौतारी मर्मत सम्भार गरेका छौंं, बाँकी क्रमिक रूपमा  मर्मतसम्भार गर्दैजान्छौंं ।’  

उहाँका अनुसार एक वर्षको अवधिमा चार वटा चौतारीहरूको संरक्षण र पुनर्निर्माण गरिएको छ । नगरपालिका कार्यालयको प्रवेशद्वारमा रहेको चौतारीको मर्मत सम्भार गरेर चिटिक्क पारिएको छ । सरकारी कामकाज लिएर गाउँबाट झरेका सर्वसाधारणलाई चौतारीमा आराम गर्न सहज भएको छ । 

स्वामीको बोटमुनिको उक्त चौतारी जीर्ण बनेको थियो । चौतारीको सिँढी मर्मतसँगै अगाडिको भागमा म्याग्दीका पर्यटकीयस्थलको पहिचान झल्कने होडिङ बोर्ड समेत राखिएको छ । चौतारीको एक भागमा सडकमा छोडिएका गाईले पानी खाने ठाउँ समेत बनाइएको छ । पक्की चौतारीमा ढुङ्गा छपाएर मौलिकता दिने वडा वडाध्यक्षको योजना छ । 

चौतारी मर्मतका लागि चालु आर्थिक वर्ष २०७९–८० मा बेनी नगरपालिकाले  नौ लाख ५० हजार विनियोजन गरेको र सो बजेटबाट तीन वटा चौतारी, एक विश्रामस्थल पुनर्निर्माण तथा मर्मत गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

नगरपालिका अगाडि दिवङ्गत भइसक्नुभएका कीर्तिकुमार श्रेष्ठ, बेनी सामुदायिक भवन अगाडि तुलबहादुर शाक्य र दोभानमा चन्द्रशेखर श्रेष्ठले चौतारा र नरबहादुर बानियाँले दोभानमा मलामी विश्रामस्थल बनाउनुभएको थियो । तत्कालीन समयमा चौतारा बनाउने व्यक्तिहरू दिवङ्गत भइसकेकाले उहाँहरूको आफन्त र घरपरिवारसँग समन्वय गरेर जीर्ण बनेका चौतारीलाई पुनर्जीवित गर्ने काम गरिएको छ । 

यसैगरी कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको चौतारीमा समेत पूजाआजा र तर्पण दिन सहज होस् भनेर फराकिलो चौतारी बनाइएको छ । चौतारी बनाएका दातासँग समन्वय गरेर वडा कार्यालयले जीर्ण अवस्थामा रहेका सबै धर्म चौतारीहरूको आगामी दिनमा मर्मत र संरक्षण गर्ने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । ‘त्यस्ता पुराना धार्मिक चौतारीहरू हाम्रो समाजका जीवन्त पहिचान र सभ्यता भएकाले संरक्षण गरेर जोगाइ राख्नु हाम्रो दायित्व हो’वडाध्यक्ष श्रेष्ठले भन्नुभयो ।