• १६ चैत २०८०, शुक्रबार

मौलाकालिका मन्दिरमा फागुनभित्रै केबलकार

blog

गैंडाकोटमा निर्माणाधीन मौलाकालिका केबलकार । तस्बिर सौजन्य : गोकुल सावद

मीना कंडेल

कावासोती, मङ्सिर २१ गते । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकास्थित मौलाकालिका मन्दिरमा आगामी फागुनभित्र केबलकार निर्माण हुनेभएको छ । केबलकार सञ्चालनका लागि वन मन्त्रालयले दिएको स्वीकृतिका आधारमा एक हजार ३८ रूख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ । 

गैँडाकोट –१ धारापानीमा चढ्ने र मन्दिर नजिक ओर्लने स्टेसन बनाइँदै छ । त्यहाँ हेलिप्याड पनि निर्माण गरिएको छ । केबलकारको लम्बाइ १२ सय मिटर छ । ६ वटा टावर रहने केबलकारमा १४ वटा डब्बा छन् । 

एउटा सामान बोक्ने र अर्को एउटा सर्भिसिङ डब्बा हुनेछन् । एउटा डब्बामा एक पटकमा ८ जना अट्ने क्षमता छ । हरेक डब्बा ५ मिनेटमा मन्दिर पुग्ने कम्पनीले जनाएको छ । प्रतिदिन ६ हजार यात्रु आवतजावत गराउन सकिने कम्पनीले जनाएको छ । 

स्थानीयले कम्तीमा ५० हजारदेखि बढीमा ५ लाख रुपियाँसम्म लगानी गरेको प्रोजेक्ट म्यानेजर गोकुल सावदले बताउनुभयो । केबलकारले करिब चार सय जनालाई रोजगारी दिने कम्पनीको भनाइ छ । 

मन्दिर नजिक ५० कोठाको होटल, लज पनि निर्माणाधीन छ । करिब डेढ अर्ब रुपियाँ लगानीमा निर्माण हुने लक्ष्य राखिएको केबलकार आयोजनामा ५१ प्रतिशत मुख्य लगानीकर्ता आइएमई समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहने बताइएको छ । 

केबलकार निर्माण यति बेला अन्तिम चरणमा छ । आइएमई समूहले केबलकार सञ्चालनमा ल्याउन लागेको हो । फागुनभित्र परीक्षण गरी सञ्चालनमा ल्याउने तयारीमा रहेको प्रोजेक्ट म्यानेजर सावदले बताउनुभयो ।