• ८ वैशाख २०८१, शनिबार

बाँकेमा नयाँ उम्मेदवारलाई जित्न सहज

blog

बाँकेमा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिदैं । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, मङ्सिर २१ गते । बाँकेमा गत स्थानीय तहको निर्वाचनमा आठ स्थानीय तहमा  प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमा शून्य नतिजा ल्याएको नेकपा (एमाले) ले ६ महिनापछि भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको छ । 

प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ स्थानमध्ये एमालेले सत्तारुढ गठबन्धनका बाबजुद राप्रपाको साथ लिएर प्रतिनिधि सभामा १ र प्रदेश सभामा २ सिटमा जित निकालेको छ । नेपाली काङ्ग्रेसले प्रतिनिधि सभा र प्रदेश सभामा १–१ सिट जितेको छ । जनता समाजवादी पार्टीले प्रदेश सभामा २ र नेकपा (माओवादी केन्द्र) ले प्रदेश सभामा १ सिटमा जित हासिल गरेको छ । 

एमालेबाट विजयी तीन जना उम्मेदवार पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भई विजयी हुनुभएको हो । क्षेत्र नम्बर १ मा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सूर्य ढकालले युवा तथा खेलकुदमन्त्री तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वर गहतराजलाई पराजित गर्नुभयो । 

२०७४ मा वाम गठबन्धन हुँदा एमालेका ढकाललाई पछि पारेर टिकट प्राप्त गरी विजयी बन्नु भएका गहतराज यस पटक दोहोरिन सक्नु भएन । ढकालले संसदीय राजनीतिमा पहिलो पटक टिकट प्राप्त गरेर विजयी यात्रा सुरु गर्नुभएको हो । “निरन्तर जनताको बीचमा रहेर क्रियाशील भएको प्रतिफल जनताबाट प्राप्त भएको छ, ढकालले भन्नुभयो, “जनताको यो विश्वासलाई डगमगाउन दिने छैनौँ ।” 

क्षेत्र नम्बर १ को प्रदेश (क) मा माओवादी केन्द्रका कृष्ण केसी दोहोरिँदा प्रदेश (ख) मा भने एमालेका दुर्गाप्रसाद चौधरी विजयी हुनुभयो । पूर्व माओवादीका डिभिजन कमाण्डर समेत रहनुभएका चौधरी पनि संसदीय यात्रामा पहिलो पटक उम्मेदवार बनेर सफल हुनुभएको हो । 

बाँके क्षेत्र नम्बर २ मा राप्रपाका धवलशम्शेर राणाको सांसद बन्ने २८ वर्षदेखिको प्रयास सफल भएको छ । २०५१, २०६४ र २०७० मा प्रतिनिधि सभा सांसदको उम्मेदवार बन्नुभएको डा. राणा २०५४ र २०७४ मा नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा विजयी हुनुभएको थियो । 

यस पटक राणाले एमालेको समर्थनमा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईलाई पराजित गर्नुभयो । सत्तारुढ गठबन्धनका तर्फबाट काङ्ग्रेसका उम्मेदवार सुदिपनरसिंह राणाको जमानत नै जफत भएको छ । क्षेत्र नम्बर २ को प्रदेश (क) मा जसपाका भण्डारीलाल यादव र प्रदेश (ख) मा पनि जसपाकै आदेश अग्रवाल विजयी हुनुभयो । 

डुडुवा ३ का पूर्व वडाध्यक्ष यादव गत स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेदवार भई पराजित हुनुभएको थियो । व्यापारी नेता अग्रवाल पहिलो पटकमा संसदीय राजनीतिमा विजयी हुनुभयो ।  

नेपाली काङ्ग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर बर्दियाबाट पहिलो पटक निर्वाचन क्षेत्र परिवर्तन गरी बाँके क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धा गर्नुभयो । पहिलो प्रयासमै राठौर विजयी हुनुभयो । प्रदेश १ मा एमालेका रत्न खत्री विजयी हुनुभयो ।

२०७४ मा वाम गठबन्धनका कारण टिकट नपाएका खत्रीले संसदीय राजनीतिमा पहिलो पटक टिकट प्राप्त गरी विजयी हुनुभयो । दुई पटक समानुपातिक तर्फबाट संविधान सभा सदस्य बन्नुभएका बादसाह कुर्मी प्रदेश (ख) बाट विजयी हुनुभयो ।