• ६ वैशाख २०८१, बिहिबार

सुनसरी क्षेत्र ४ (क) मा कांग्रेसका मण्डल विजयी

blog

नेपाली कांग्रेसका सदानन्द मण्डल । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, मङ्सिर १५ गते । सुनसरीको निर्वाचन क्षेत्र ४ (क) को प्रदेश सभा सदस्यमा  नेपाली कांग्रेसका उम्मेदवार सदानन्द मण्डल विजयी हुनुभएको छ । प्रदेश सभा सदस्य निर्वाचित हुनुभएका मण्डलले १५ हजार १९८ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार परशुराम बस्नेतले १२ हजार ३० मत प्राप्त गर्नुभयो ।  

उम्मेदवार मण्डलले बस्नेतलाई तीन हजार १६८ मतान्तरले विजयी हासिल गर्नुभयो ।  विजयी हुनुभएका मण्डललाई बिहीबार निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस क्षेत्रमा दुई हजार बढी मत बदर भएको छ । सुनसरीको निर्वाचन क्षेत्र ४ (क) बाट प्रदेश सभा सदस्यतर्फ कुल ४१ हजार ३७५ मत खसेकोमा दुई हजार ३६८ मत बदर भएको छ । यस क्षेत्रमा मतदाता शिक्षा प्रभावकारी नभएका कारण मत बदर सङ्ख्या बढेको मतदाताको भनाइ छ ।  

सुनसरीमा एमाले पहिलो   

सुनसरीको चार वटै प्रतिनिधि सभा र आठ वटा प्रदेश सभा सदस्यको मत परिणाम सार्वजनिक भएको छ । समानुपातिकको मत परिणाम पनि सार्वजनिक भएको छ । सुनसरीमा चार क्षेत्रमा नेकपा (एमाले) ले दुई वटा प्रतिनिधि सभा सदस्य, नेपाली कांग्रेसले एक वटा प्रतिनिधि सभा सदस्य र जनता समाजवादी पार्टीले एक प्रतिनिधि सभा सदस्यमा जित हासिल गरेको छ । 

त्यसैगरी आठ वटा प्रदेश सभा सदस्यमा नेकपा एमालेले ६ वटा प्रदेश सभा सदस्यमा विजयी भएको छ । त्यस्तै, कांग्रेसले दुई वटा प्रदेश सभा सदस्यमा जित हासिल गरेको छ ।