• १४ वैशाख २०८१, शुक्रबार

स्याङ्जा-२ मा गुरुङको अग्रता कायमै, पछ्याउँदै अर्याल

blog

राधाकृष्ण डुम्रे

वालिङ, मङ्सिर १५ गते । स्याङ्जा निर्वाचन क्षेत्र २ मतगणना जारी छ । विवादका कारण मत गणना सुरु हुन ढिला भएपछि धेरैको चासो थियो । बुधवार रातिबाट सुरु भएको मतगणना  बिहीबार साँझसम्म गल्याङ नगरपालिकाको वडा ६ र ७, भीरकोट नगरपालिकाको वडा ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाको वडा १, २, ५, ६ र ७ को मत गणना सकिएको छ । 

आज बिहीबार साँझसम्म नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिनुभएको छ । उहाँले नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई दुई हजार ९ मतले पछि पार्नुभएको छ । कांग्रेसका गुरुङले ७ हजार ४७८ मत पाउनु भएको छ भने एमालेकी अर्यालले ५ हजार ४६९ मत रहेको छ । 

सुरुवाती अवस्थामा एक हजार बढीको अग्रता लिनुभएकी अर्याल अहिले पछि पर्नुभएको हो । यस्तै, स्याङ्जा २ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले २ हजार १५३ मत प्राप्त गर्नुभयो ।  स्याङ्जा २ मा एक लाख १६ हजार सात सय ७८ मतदातामध्ये ७० हजार एकसय ९१ मत खसेको थियो । 

यसैबीच, प्रदेश सभा (क) तर्फ पनि कांग्रेसका भोजराज अर्यालले अग्रता लिइरहनु भएको छ । अर्यालले एमालेका मोहनप्रसाद रेग्मीलाई २ हजार ८२ मतले पछि पार्नुभएको छ । अर्यालले ८ हजार २५१ मत ल्याउँदा रेग्मीले ६ हजार १७० मत ल्याउनुभएको छ ।