• १२ साउन २०८१, शनिबार

इलाम १ प्रदेश सभा (ख) मा कांग्रेसका शम्शेर विजयी

blog

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), मंसिर १२ गते । इलाम १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका शम्शेर राई विजयी हुनुभएको छ । राईले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का दीपककुमार थेवेलाई ५ सय ४१ मतान्तरले पराजित गर्नुभयो ।

राईले १२ हजार सात सय ७४ मत पाउँदा थेवेले १२ हजार एक सय ३३ मत पाउनुभयो । मतगणना हिजै सकिए पनि निर्वाचन अधिकृतको कार्यालयले समानुपातिकको पनि मतगणना सकेर आज मात्र अन्तिम घोषणा गरेको हो । यस प्रदेश सभामा २९ हजार ६ सय ४० मत खसेको थियो ।

राई रोङ गाउँपालिकाका निवर्तमान अध्यक्ष हुनुहुन्छ भने थेवे माई नगरपालिकाका निवर्तमान नगरप्रमुख हुनुहुन्छ । अघिल्लो निर्वाचनमा सो क्षेत्रमा एमालेका काजीमान कागते निर्वाचित हुनुभएको थियो । यस पटक उक्त क्षेत्र एमालेले गुमाएको छ । राई कांग्रेसका वर्तमान क्षेत्रीय सभापति हुनुहुन्छ । उहाँले पालिकामा रहँदा आफूलाई सवारी खरिद गर्नुको सट्टा दुई वटा सामुदायिक विद्यालयलाई बस खरिद गरेर चर्चामा आउनुभयो ।