• १३ साउन २०८१, आइतबार

चौबीस सिटमा बीस नयाँ

blog

छिन्चु समाचारदाता

सुर्खेत, मङ्सिर ११ गते । कर्णाली प्रदेश सभाका प्रत्यक्षतर्फका २४ सिटमध्ये चार जना मात्रै पुराना सांसद दोहोरिएका छन्। २० जना नयाँ अनुहार प्रदेश सभामा प्रवेशका लागि जनताबाट अनुमोदित भएका छन्। 

यसपालि दोहोरिने अनुहारमा कर्णालीका वन तथा वातावरणमन्त्री माओवादीबाट डोल्पा प्रदेश (क)बाट वीरबहादुर शाही, सुर्खेत क्षेत्र नं. २ (ख)बाट माओवादीका विन्दमान विष्ट, सुर्खेत क्षेत्र नं. २ (क)बाट नेकपा (एमाले)का यामलाल कँडेल र हुम्ला (ख)बाट कांग्रेसका जीवनबहादुर शाही निर्वाचित हुनुभएको छ। उहाँ कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत हुनुहुन्छ। 

नयाँ अनुहारमा सुर्खेत क्षेत्र नं. १ (क)बाट नेपाली कांग्रेसका जिल्ला सभापति खड्ग पोखरेल पहिलो पटक प्रदेश सभामा प्रवेश गर्दै हुनुहुन्छ। यस्तै क्षेत्र नं. १ (ख)मा माओवादी केन्द्र कर्णाली प्रदेशका उपाध्यक्ष कृष्ण जीसी पनि नयाँ अनुहार हुनुहुन्छ। निवर्तमान दुल्लु नगरपालिकाका प्रमुखसमेत रहनुभएका घनश्याम भण्डारी पनि पहिलो पटक प्रदेश सभामा प्रवेश गर्दै हुनुहुन्छ। दैलेख २ (ख)मा एमाले कर्णालीका अध्यक्ष विनोदकुमार शाह विजयी हुनुभएको छ।  यस्तै दैलेख क्षेत्र नं. १ (क)बाट कांग्रेसका पूर्णबहादुर खत्री र (ख)बाट कृष्ण बीसी विजयी हुनुभएको छ। सल्यान प्रदेश सभा (क)बाट माओवादीका भीमप्रकाश शर्मा विजयी हुनुभएको छ भने प्रदेशसभा (ख)मा कांग्रेसका सुरेश अधिकारी विजयी हुनुभएको छ।  रुकुमपश्चिमका दुवै क्षेत्रबाट माओवादीका नयाँ उम्मेदवार सांसद निर्वाचित हुनुभएको छ।  रुकुमपश्चिम प्रदेश सभा (क)मा माओवादीका महेन्द्र केसी पनि नयाँ हुनुहुन्छ। यस्तै (ख)मा राजकुमार शर्मा विजयी हुनुभएको छ। जाजरकोट प्रदेश सभा (क)मा कांग्रेसका वेदराज सिंह विजयी हुनुभएको छ। प्रदेश (ख)मा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित हुनुभएको छ। 

कालिकोट प्रदेश सभा (क)बाट माओवादीका दुर्गबहादुर रावत विजयी हुनुभएको छ। कालीकोट प्रदेश सभा (ख)मा कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी हुनुभएको छ। डोल्पा प्रदेश सभा (क)मा एमालेका शेरबहादुर बुढा विजयी हुनुभएको छ। हुम्ला प्रदेश सभा (क)बाट माओवादीका रणसिंह परियार विजयी हुनुभएको छ। यस्तै मुगु (क)मा एमालेका जितबहादुर मल्ल विजयी हुनुभएको छ। यस्तै मुगु (ख)मा माओवादीका मङ्गलबहादुर शाही विजयी हुनुभएको छ। जुम्ला प्रदेश सभा (क)मा कांग्रेसबाट बागी उम्मेदवार देवेन्द्रबहादुर शाही विजयी हुनुभएको छ। यस्तै जुम्ला (ख)मा एमालेका टेकराज पछाई विजयी हुनुभएको छ।