राधा चालिसे
काठमाडौँ, मङ्सिर १० गते । आइतबार सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। शुक्रबार सार्वजनिक भएको मतपरिणामअनुसार प्रतिनिधि सभा सदस्यमा विभिन्न राजनीतिक दलका उम्मेदवारले विजय हासिल गर्नुभएको छ।
महोत्तरी समाचारदाता महेशकुमार दासका अनुसार महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर विजयी हुनुभएको छ।
शुक्रबार साँझ सम्पन्न मतगणना परिणामअनुसार लोसपाका अध्यक्ष ठाकुर आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा दुई हजार ५० मतको अन्तरले विजयी हुनुभएको हो। यस क्षेत्रबाट ठाकुरको दोस्रो जित हो। पाँच दलीय गठबन्धनका साझा उम्मेदवारसमेत रहनुभएका ठाकुरले १६ हजार ३७५ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका हरिनारायण यादवले १४ हजार ३२५ मत ल्याउनुभएको छ।
मोरङबाट कोइराला विजयी
रङ्गेली समाचारदाता नवराज कट्टेल र उर्लाबारी समाचारदाता हरिप्रसाद कोइरालाका अनुसार मोरङका तीन निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक मत परिणामअनुसार मोरङको क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला ३५ हजार ७३९ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबाबु पण्डितले २१ हजार ३९२ मत प्राप्त गर्नुभयो। २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट पण्डित विजयी हुनुभएको थियो।
२०६४ सालदेखि चिकित्सा पेसा छोडेर कांग्रेस राजनीतिमा प्रवेश गर्नुभएका ७२ वर्षीय कोइराला तेस्रो पटक निर्वाचित हुनुभएको हो। पहिलो पटक मोरङ ७ बाट संविधान सभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमका नेता विजयकुमार गच्छदारसँग पराजित हुनुभएका कोइराला २०६५ को उपनिर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनुभयो। फोरमका गच्छदार सुनसरी ३ र मोरङ ७ बाट विजयी भएपछि मोरङ ७ मा उपनिर्वाचन भएको थियो।
दोस्रो संविधान सभा निर्वाचनमा मोरङ ७ बाट विजयी हुनुभएका कोइराला २०७२ को संविधान जारी भएपछिको पहिलो निर्वाचनमा मोरङ ६ बाट एमाले नेता लालबाबु पण्डितसँग ६८५ मतले पराजित हुनुभएको थियो। पाँचौँ पटक चुनावी प्रतिस्पर्धामा उत्रिनुभएका कोइरालाले यो पटक पण्डितलाई ठूलो मतान्तरले पराजित गर्नुभएको हो।
त्यस्तै मोरङ क्षेत्र नं. ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले २१ हजार ८२० मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४८६ मत प्राप्त गर्नुभयो। क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका अमनलाल मोदी विजयी हुनुभएको छ। उहाँले ३० हजार ६१२ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका विनोद ढकालले २४ हजार ४६३ मत ल्याउनुभएको छ।
गुल्मी १ मा कांग्रेसका भण्डारी
तम्घास समाचारदाता तिलाचन पाण्डेका अनुसार गुल्मी क्षेत्र नं. १ मा चन्द्र भण्डारी विजयी हुनुभएको छ। एक हजार ५९२ मत अन्तरले भण्डारी विजयी बन्नुभएको हो। उहाँले ३३ हजार ७४४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले ३२ हजार १५२ मत प्राप्त गर्नुभएको छ।
काभ्रेपलाञ्चोक–२ मा बाँस्कोटा
बनेपा समाचारदाता केदार तिमल्सिनाका अनुसार काभ्रेपलाञ्चोक–२ मा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा विजयी हुनुभएको छ। कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई पाँच हजार ८६३ मतान्तरले पराजित गर्दै बाँस्कोटा दोस्रो पटक विजयी हुनुभएको हो। बाँस्कोटाले ४५ हजार ३४५ मत प्राप्त गर्नुभयो भने हुमागाईंले ३९ हजार ४८२ मत प्राप्त गर्नुभएको थियो।
नवलपरासी १ बाट चौधरी विजयी
परासी समाचारदाता गोपी ज्ञवालीका अनुसार नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट कांग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरी विजयी हुनुभएको छ। उहाँले २९ हजार ४९५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दुर्गा भट्टराईले बताउनुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी पूर्वमन्त्री हृदयेश त्रिपाठीले २२ हजार ३७८ मत प्राप्त गर्नुभयो। जितेपछि उहाँले मतदाताका घरघरमा पुगेर मतदातालाई नै टीका र माला लगाइदिएर सम्मान गर्नुभएको थियो।
पाँचथरमा एमालेका नेम्वाङ विजयी
फिदिम समाचारदाताका अनुसार पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित हुनुभएको छ। उहाँले ३२ हजार ११० मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले ३२ हजार ६३ मत प्राप्त गर्नुभयो। उहाँहरूबीच जम्मा ४७ मतको अन्तर रहेको छ। २०७४ सालमा आङ्देम्बेलाई नै पछि पार्दै नेम्वाङ प्रतिनिधि सभा सदस्य बन्नुभएको थियो।
भोजपुरमा माओवादी केन्द्रका किराँती
भोजपुर समाचारदाता गोकुल भुजेलका अनुसार भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का सुदन किराँती विजयी हुनुभएको छ। सत्तारुढ गठबन्धनका साझा उम्मेदवार किराँतीले २८ हजार ५७८ मत प्राप्त गर्नुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शेरधन राईले २६ हजार १९३ मत प्राप्त गर्नुभएको थियो। उक्त क्षेत्रमा कुल ६१ हजार ८३० मत खसेको थियो।
बैतडीबाट एमालेका भण्डारी विजयी
बैतडी समाचारदाता गोकर्ण दयालका अनुसार बैतडीबाट नेकपा (एमाले)का दामोदर भण्डारी विजयी हुनुभएको छ। एमालेको सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षसमेत रहनुभएका भण्डारीको यो तेस्रो पटकको जित हो।
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बैतडीमा ७७ हजार ४६० मत खसेको थियो। त्यसमध्ये भण्डारीले ३३ हजार ६११ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)ले ३२ हजार ८० मत प्राप्त प्राप्त गर्नुभएको थियो। भण्डारीले यसअघि २०७० र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि विजयी हुनुभएको थियो।
स्याङ्जा १ मा कांग्रेसका थापा
स्याङ्जा समाचारदाता अर्जुन काफ्लेका अनुसार स्याङ्जा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका राजु थापा विजयी हुनुभएको छ। उहाँले ३१ हजार ९९९ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नारायणप्रसाद मरासिनीले २८ हजार ७४४ मत प्राप्त गर्नुभयो। उहाँहरूबीच यसअघिको निर्वाचनमा पनि प्रतिस्पर्धा भएको थियो। थापाको यो दोस्रो पटकको जित हो।
सुर्खेतका दुवै क्षेत्रमा कांग्रेस
छिन्चु समाचारदाताका अनुसार सुर्खेतका प्रतिनिधि सभा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का ११ हजार ६१९ मतान्तरले विजयी हुनुभएको छ। उपसभापति खड्काले ४२ हजार ६०७ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत प्राप्त गर्नुभयो। उपसभापति खड्का पाँचौँ पटक विजयी हुनुभएको हो। उहाँले २०४८, २०५१, २०५६ मा प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको थियो भने २०६४ सालमा समानुपातिकबाट सांसद बन्नुभएको थियो ।
यस्तै सुर्खेत निर्वाचन क्षेत्र नं. २ मा पनि कांग्रेसका हृदयराम थानी विजयी हुनुभएको छ। थानीले ३४ हजार ६२५ मत प्राप्त गरी विजय हुनुभएको हो। थानीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहनुभएका अमृतबहादुर बुढाक्षेत्रीले २९ हजार ५५८ मत प्राप्त गर्नुभएको छ।
रुकुमपश्चिममा शर्माको फराकिलो जित
मुसीकोट समाचारदाताका अनुसार एक प्रतिनिधि सभा क्षेत्र रुकुमपश्चिममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार जनार्दन शर्मा निर्वाचित हुनुभएको छ।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री शर्माले नेकपा एमालेका नन्दराम देवकोटालाई फराकिलो मतले पराजित गर्नुभएको हो। मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीका अनुसार शर्माले ३९ हजार ५४९ मत ल्याएर विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी एमाले उम्मेदवार देवकोटाले १२ हजार ९६१ मत प्राप्त गर्नुभयो।
सल्यानमा ज्वाला विजयी
सल्यान समाचारदाताका अनुसार सल्यानबाट नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वाला विजयी हुनुभएको छ। ज्वाला १५ हजार ९११ मतको फराकिलो अन्तरले विजयी हुनुभएको हो।
उहाँले ३५ हजार सात सय मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत प्राप्त गर्नुभएको छ। यस्तै नेकपा (एमाले)का राजेन्द्रवीर रायले १३ हजार २९ मत प्राप्त गर्नुभएको छ।
पाल्पाका दुवै क्षेत्रमा एमाले
तानसेन समाचारदाताका अनुसार एमालेका उम्मेदवार ठाकुर गैरे प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ। एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेयलाई पराजित गर्दै गैरे पाल्पा क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको हो। गैरेले २७ हजार ८१७ मतसहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिनुभयो। गैरेले जितेसँगै यसअघि चार पटक सांसद हुनुभएका पाण्डेयको वर्चश्व गुमेको छ। पाण्डेयले २३ हजार ८५१ मत ल्याउनुभयो।
यस्तै पाल्पा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य निर्वाचित हुनुभएको छ। आचार्यले ३१ हजार १०३ मत प्राप्त गर्नुभएको छ। आचार्यका प्रतिस्पर्धी कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २५६ मत पाउनुभयो।
बाँकेमा सूर्य ढकाल निर्वाचित
नेपालगञ्ज समाचारदाता सिराज खानका अनुसार बाँके क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा एमालेका केन्द्रीय सदस्य सूर्य ढकाल निर्वाचित हुनुभएको छ। उहाँले युवा तथा खेलकुदमन्त्री सत्ता गठबन्धनका उम्मेदवार महेश्वरजङ्ग गहतराज अथकलाई पाँच हजारभन्दा बढी मत अन्तरले पराजित गर्नुभयो। ढकालले २५ हजार २६ मत प्राप्त गर्नुभयो भने मन्त्री गहतराज अथकले १९ हजार ६३२ मत प्राप्त गर्नुभयो।
राप्रपाका प्रधान निर्वाचित
नवलपरासी समाचारदाता गोपी ज्ञवालीका अनुसार पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार धु्रवबहादुर प्रधान निर्वाचित हुनुभएको छ। प्रधानले ३४ हजार ९५९ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले १९ हजार ५९४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
कास्कीमा एमालेको वर्चस्व
कास्की समाचारदाताका अनुसार प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नं. १ बाट नेकपा (एमाले)का मनबहादुर गुरुङ विजयी हुनुभएको छ।
नेपाली कांग्रेसका किशोरदत्त बराललाई दुई हजार ५१९ मतले पछि पार्दै एमालेका गुरुङ विजयी हुनुभएको हो। एमालेका गुरुङले २५ हजार ७०८ मत ल्याउँदा कांग्रेसका बरालले २३ हजार १८९ मत ल्याउनुभयो। त्यस्तै कास्की क्षेत्र नं. २ मा एमालेका उम्मेदवार विद्या भट्टराई विजयी हुनुभएको छ। भट्टराईले १६ हजार ९९८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४९५ मत प्राप्त गर्नुभयो। कास्की क्षेत्र नं. ३ बाट एमालेका दामोदर पौडेल वैरागी निर्वाचित हुनुभएको छ । गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनलाई पाँच हजार ४४५ मतान्तरले पछि पार्दै पौडेल विजयी हुनुभएको हो। पौडेल २२ हजार ९८० मत ल्याएर प्रतिनिधि सभामा निर्वाचित हुनुभयो भने माओवादी केन्द्रका बरालले १७ हजार ५३५ मत प्राप्त गर्नुभयो।
डोल्पाबाट बुढा निर्वाचित
डोल्पा समाचारदाता विष्णुप्रसाद देवकोटाका अनुसार डोल्पाबाट प्रतिनिधि सभा सदस्यमा साझा गठबन्धनका उम्मेदवार धनबहादुर बुढा विजयी हुनुभएको छ। नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यसमेत रहनुभएका बुढाले ११ हजार २९२ मत ल्याएर विजयी हुनुभएको हो।