• १३ वैशाख २०८१, बिहिबार

कालीकोटमा म्यादीको बिदाइ

blog

बिहीबार म्यादी प्रहरीको बिदाइ कार्यक्रम। तस्बिर : प्रेमराज सिम्खडा।

प्रेमराज सिम्खडा 

कालीकोट मङ्सिर ९ गते। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीको बिदाइ गरिएको छ। कालीकोट जिल्लाका १२४ मतदान केन्द्रको सुरक्षाका लागि भर्ना भएका एक हजार २५ जना म्यादी प्रहरीलाई औपचारिक कार्यक्रम गरेर बिदाइ गरिएको हो। 

प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले म्यादी प्रहरीलाई प्रमाणपत्र प्रदान गर्दै आगामी दिनमा पनि राज्यले तोकेको ठाउँमा सहभागी भएर समाजमा योगदान गर्न सुझाव दिनुभयो। जिल्लाका सबै मतदान केन्द्रमा म्यादी प्रहरीले दिएको सुरक्षाकै कारण निर्वाचन सफल भएको भन्दै उहाँले आगामी दिनको सफलताको कामना गर्नुभयो। 

निर्वाचन सुरक्षाका लागि एक हजार २५ जना म्यादी प्रहरीसहित दुई हजार ९८ जना सुरक्षाकर्मी परिचालन भएका थिए। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयस्वर रिमालका अनुसार एक हजार २५ म्यादी प्रहरी, २१५ जना सशस्त्र प्रहरी, ५०८ जना नेपाल प्रहरी र नेपाली सेना ३५० जना गरेर जम्मा दुई हजार ९८ जना सुरक्षाकर्मी परिचालन भएका थिए।