• १३ वैशाख २०८१, बिहिबार

काभ्रेपलाञ्चोक १ को (ख) मा कांग्रेसका तीर्थबहादुर लामा विजयी

blog

केदार तिमल्सिना
काभ्रेपलाञ्चोक, मङ्सिर ९ गते ।
काभ्रेपलाञ्चोक जिल्लाको थप दुई प्रदेश सभा सदस्यमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी हुनु भएको छ । जिल्लाको प्रतिनिधिसभा १ अन्तर्गतको प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका जिल्ला सभापति तीर्थबहादुर लामाले नेकपा (एमाले) का उम्मेदवार चन्द्रबहादुर लामालाई तीन मतले पराजित गर्नुभएको छ ।

लामाले १९ हजार २८० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी एमालेका लामाले १९ हजार २७७ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, प्रदेशसभा (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका सहदेव भण्डारीले तीन हजार ९५४ मत, स्वतन्त्र उम्मेदवार विश्वेश्वर बञ्जाराले एक हजार ७५९ मत, नेमकिपाका कृष्णबहादुर तामाङले २२२ मत प्राप्त गर्नुभयो । यस्तै, नेपाली पार्टीका नरमान लोप्चनले २०८, मङ्गोल नेशनल अर्गनाइजेनशनका जनकबहादुर लामाले १४५ मत, जनता समाजवादी पार्टी, नेपालका बुद्धबहादुर लामाले ११८ मत र स्वतन्त्र उम्मेदार दुर्गाबहादुर घर्तीले ५० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी, प्रतिनिधिसभा २ अन्र्तगतको प्रदेश सभा (ख) मा नेपाली काङ्ग्रेसका कञ्चनचन्द्र वादेले नेकपा एमालेका उम्मेदवार कुमार थापालाई पराजित गर्दै विजयी हुनु भएको छ । वादेले २६ हजार ३५ मत प्राप्त गर्नुभएको थियो भने एमालेका थापाले २१ हजार ९५७ मत प्राप्त गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका राकमृष्ण लामा (तामाङ) ले तीन हजार ३३५ मत, नेपाल मजदुर किसान पार्टीका मुना तामाङले एक हजार २८५ मत, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेलिनवादी) का दानबहाद्र थापाले ६२९ मत, जनता समाजवादी पार्टी नेपालका बीरबहादुर तामाङले १५४ मत र मङ्गोल नेशनल अर्गनाइजेशनका सुकमान तामाङले १३१ मत प्राप्त गर्नुभयो ।

यसघि जिल्लाको प्रतिनिधि सभा १ को प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका रत्न ढकाल र प्रतिनिधि सभा २ (क) मा नेकपा समाजवादीका लक्ष्मण लमसाल विजयी हुनुभएको छ ।