• ११ मंसिर २०८१, मङ्गलबार

काभ्रेपलाञ्चोकमा सत्ता गठबन्धनका उम्मेदवार अगाडि

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, मङ्सिर ६ गते । काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाइँको अग्रता कायम छ । मतगणनाको सुरुदेखि नै अग्रतामा रहनुभएका हुमागाइँ र नेकपा (एमाले) का उम्मेदवार पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाबीच ७१८ को मतान्तर  छ । 

मङ्गलबार साँझ ५ बजेसम्मको मतपरिणामअनुसार काङ्ग्रेसका हुमागाइँले सात हजार ८१ मत र एमालेका बाँस्कोटाले ६ हजार ३५४ मत प्राप्त गर्नुभएको छ । सत्ता गठबन्धनका उम्मेदवार हुमागाइँ र एमालेका उम्मेदवारपछि राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाइँले एक हजार ४५३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृको कार्यालयले जनाएको छ ।

यो क्षेत्रमा यी तीन दलका उम्मेदवारपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार यशु आले मगरले १०८ मत प्राप्त गर्नुभएको छ । अन्य दल र स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका उम्मेदवारले एक सय मतसमेत कटाउन सक्नुभएको छैन । यो क्षेत्रमा सत्ता गठबन्धन र एमालेका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा देखिएको छ । यो क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि १६ जनाले उम्मेदवारी दिनुभएको छ । 

यस्तै, प्रतिनिधि सभा २ अन्तर्गतको प्रदेश सभा (ख) मा सत्ता गठबन्धन नेकपा (एस) का उम्मेदवार लक्ष्मण लम्साल एमालेका उम्मेदवार कुमार खकुरेलभन्दा बढी मत प्राप्त गर्नुभएको छ । लम्सालले ८०५ र खकुरेलले ५५२, नेमकिपाका सूर्यलाल तामाङले ९६ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) का सूर्यमान तामाङ दोङ, एमालेका उम्मेदवार रेशम लामाभन्दा अग्रस्थानमा रहुनभएको छ । दोङ र लामाबीच साँझ ५ बजेसम्म ४१५ मतको मतान्तर छ । 

माओवादी केन्द्रका दोङको एक हजार २९६ र एमालेका लामाले ८८१ मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रमा सत्ता गठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधि सभा १ मा १७ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

प्रतिनिधि सभा १ को प्रदेश सभा (क) मा एमालेका उम्मेदवार दिलबहादुर तामाङ, सत्ता गठबन्धन माओवादी केन्द्रका रत्न ढकालभन्दा अगाडि रहनुभएको छ । तामाङले हालसम्म ८५७ र ढकालले ८०३ मत पाउनुभएको छ । 

यसैगरी प्रदेश सभा (ख) मा सत्ता गठबन्धन काङ्ग्रेसका तीर्थबहादुर लामा, एमालेका उम्मेदवार चन्द्रबहादुर लामाभन्दा अघि रहनुभएको छ । काङ्ग्रेसका लामाको एक हजार ३५४ मत रहेको छ भने एमालेका लामाको ८३८ मत छ ।