• १६ असार २०८१, आइतबार

कार्की दम्पतीलाई छोएन चुनावले

blog

सिंहदरबारको दक्षिण गेट नजिकै व्यस्त कार्की दम्पती । तस्बिर : रासस

काठमाडौं, मङ्सिर ४ गते । बर्दिया ठाकुरद्वार–९ का गोरखबहादुर कार्की एकसुरमा हथौडा चलाइरहनु भएकाे छ । उहाँलाई सघाउँदै श्रीमती नजिकै बालुवा र सिमेन्टको घोल बनाउँदै हुनुहुन्छ ।

देशभर प्रतिनिधिसभा र प्रदेशसभाको मतदान जारी छ तर कार्की दम्पती बेखबर नभए पनि मतदानको अवसर पाउनुभएको छैन । बरु परिवारको खर्च टार्न चुवानको दिन पनि दिनभर मजदुरीमै हुनुहुन्छ उहाँहरु मुलुक चलाउने सिंहदरबार नजिकै । “भरपेट खाएर आनन्दको निद्रा सुत्नु छ”, कार्की दम्पतीले एकै स्वरमा सुनाउनुभयो । 

निर्वाचनकै दिन आज सिंहदरबारको दक्षिण गेट नजिकै कार्की दम्पती आफ्नै सुरमा श्रम व्यस्त हुनुहुन्छ । उहाँहरुलाई हामीले सोध्यौँ, “भोट हाल्न किन नजानुभएको ?”

“मतदाता नामावली गाउँतिरै छ, यता शहरमा भोट हाल्न पाइएन । भोट हाल्न जाउँ भनेर कसैले भनेनन् । कसैले खबर गरेको भए जाने थियौँ ।”

बर्दिया घर भएका दम्पती विगत छ महिनादेखि यहीँ बसेर ज्यामी काम गर्दै आउनुभएको छ । भोट हाल्न गाउँ नगइ राजधानीमा सङ्घर्षरत कार्की दम्पतीले दैनिक रु. एक हजार आठ सयदेखि रु. दुई हजारसम्म आम्दानी गर्नुहुन्छ ।

“छोराछोरी हुर्काइयो पढाइयो तर अहिले ठूला भएपछि छुट्टिएर बसेका छन्”, कार्कीले भन्नुभयो, “हामी बुढाबुढीलाई पेट पाल्न मजदुरी गर्नुपरेको छ ।” कार्कीलाई यसपटकको निर्वाचनमा मतदान गर्न मन नभएको भने होइन । तर मेसो नमिलेको उहाँको भनाइ छ ।

कार्की दम्पतीको जस्तै व्यथा बझाङ केदारस्यूँ गाउँपालिकाकी बर्मा धामीको पनि छ । मुलुकभर मतदान चलिरहेका बेला उहाँ भने काठमाडौंको रामशाहपथमा पिठ्यूँमा गह्रौ झोला बोकेर हिँडिरहनुभएको छ । उहाँलाई पनि गाउँ गएर आजको दिन भोट हाल्ने रहर थियो । तर आफ्नै समस्याका कारण गाउँ जान सक्नुभएन ।

“पढ्ने मान्छे परियो, भर्खरै आएकाले गाउँ जान पनि सकिनँ, घर जान धेरै पैसा लाग्छ,” उहाँले भन्नुभयो, “कसैले जाउँ पनि भनेनन्, रहर त किन नहुँदो हो र ।”

धामी पुतलीसडकमा रहेको आफन्तकहाँ बस्दै आउनुभएको रहेछ । चुनावका दिन गाडी नचल्ने भएपछि उहाँ ललितपुरको टीकाथलीसम्म पुग्न पैदल हिँडेको सुनाउनुभयो ।

“आज गाडी चल्दैन भन्ने थाहा थिएन, चल्ने भएको भए सजिलो हुन्थ्यो होला”, उहाँले भन्नुभयो, “तर नपुगी नहुने भएपछि पैदल हिँडेकी हुँ ।”

धामी जस्तै रामेछापका सङ्गीता थापा र शारदा थापा पनि भद्रकालीदेखि अनामनगरतिर पैदलै हिँड्नुभएको छ । भोट हाल्न गाउँ जान नपाएपछि चुनावका दिन मन्दिर दर्शन गर्न आउनुभएको रहेछ । भद्रकाली मन्दिरमा दर्शन गरी फर्कँदै गर्नुभएका उहाँहरु बच्चा लिएर गाउँ जान समस्या हुने भएकाले नगएको बताउनुभयो ।

निर्वाचन आयोगले सुरक्षालाई दृष्टिगत गर्दै मतदानका दिन बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म उपत्यकामा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाएको छ । सञ्चारमाध्यम, खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधन भने सञ्चालन भइरहेका छन् ।

निर्वाचन आयोगका अनुसार देशभर एक करोड ७९ लाख ८८ हजार ७० मतदाता छन् । यो सङ्ख्या आयोगले कार्की दम्पती जस्ता मतदान गर्न नपाएकाहरुलाई पनि गणना गरेको छ । केही आर्थिक अभाव तथा केही आफ्नै कारणले चुनावको उत्सवमा मतदान गर्नबाट वञ्चित भएका छन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाता नामावली ऐनले निजामती कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी, दर्ता भएर सञ्चालन भएका वृद्धाश्रमलाई समेटेको भए पनि पेशा व्यवसाय गरेका सर्वसाधारणलाई समेट्न सकेको छैन ।

अन्तर्राष्ट्रिय अभ्यासमा कुनै स्थानमा तीनदेखि छ महिनासम्म नियमित रुपमा जुन स्थानमा बसोबास गरेको हो, त्यही स्थानबाट मत दिने व्यवस्था गरिएको हुन्छ । तर हाम्रोमा निर्वाचन कानुनमा सुधार नगरी यस्तो प्रबन्ध गर्न नसकिएको सहायक प्रवक्ता अर्यालको भनाइ छ ।