• २२ वैशाख २०८१, शनिबार

बेन्जेमाको चोटले फ्रान्सलाई धक्का

blog

करिम बेन्जेमा ।

काठमाडौं, मंसिर ४ गते । टोलीका प्रभावशाली स्ट्राइकर करिम बेन्जेमा टोलीबाट बाहिरिएपछि साबिक विजेता फ्रान्सलाई कतार विश्वकपमा ठूलो धक्का लाग्ने भएको छ । प्रशिक्षणका क्रममा वेन्जेमाको तिघ्रामा चोट लागेको कारण उहाँ विश्वकप टोलीबाट बाहिरिएको फ्रान्स फुटबल फेडेरेसनले जनाएको छ ।

‘‘बेन्जेमाको चोटप्रति हामी दुःख व्यक्त गर्दछौँ । एमआरआई गर्दा उहाँको तिघ्राको मांसपेशीमा चोट लागेको पुष्टि भएको छ । उहाँ पूर्ण रूपमा ठिक हुन कम्तीमा तीन साता लाग्नेछ । हामी उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,’’ फेडेरेसनले विज्ञप्तिमार्फत भनेको छ ।

एक सातादेखि टोलीको अभ्यासमा सामेल हुनुभएका ३४ वर्षीय बेन्जेमा शनिबार प्रशिक्षणका क्रममा घाइते हुनुभएको हो । बेन्जेमाले फ्रान्सका लागि ३७ खेल खेल्दै ९७ गोल गर्नुभएको छ । स्पेनिस क्लब रियल म्याड्रिडका प्रभावशाली खेलाडी बेन्जेमाले २०२२ को बालोन डी’ओर जित्नुका साथै वर्षको उत्कृष्ट खेलाडी समेत बन्नु भएको थियो ।

रियललाई च्याम्पियनसिप लिग र ला लिगा जिताउन उहाँको महत्त्वपूर्ण भूमिका रहेको छ । फ्रान्सले बेन्जेमाको स्थानमा एन्थोनी मार्सियललाई खेलाउने तयारी गरेको छ । यसअघि चोटकै कारण फ्रान्स टोलीबाट क्रिस्टोफर एनकुन्कु टोलीबाट बाहिरिनु भएको थियो ।

चोटकै कारण फ्रान्सेली टोलीमा चर्चित मिडफिल्डर पाउल पोग्बा र एङ्गोलो कान्टे समेत टोलीमा हुनुहुन्न । कतार विश्वकपमा फ्रान्स समूह ‘डी’ मा रहेको छ । यस समूहमा डेनमार्क, अष्ट्रेलिया र ट्युनिसिया रहेका छन् । फ्रान्सले मङ्सिर ६ गते अष्ट्रेलियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । एजेन्सी