• १७ असार २०८१, सोमबार

सौराहामा निर्वाचन समाचार लेखन अनुशिक्षण सुरु

निर्वाचनप्रति मतदातालाई ऊर्जा प्रदान गर्न सञ्चारमाध्यमसँग प्रमुख निर्वाचन आयुक्तको आग्रह

blog

गोरखापत्र संस्थानले चितवनको सौराहामा आयोजना गरेको ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । तस्बिर: गोरखापत्र

सौराहा (चितवन), कात्तिक २५ गते ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनप्रति मतदातालाई ऊर्जा प्रदान गर्न आमसञ्चार माध्यमसँग आग्रह गर्नुभएको छ । उहाँले मतदान गर्ने दिन नजिकिँदै गएकाले मतदान गर्ने तरिकालाई समाचारमा प्रस्फुटित गर्न पनि आग्रह गर्नुभयो । 

गोरखापत्र संस्थानले बागमती, गण्डकी र लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला  समाचारदाताहरूका लागि निर्वाचन समाचार लेखन अनुशिक्षणको शुक्रवार सौराहामा उद्घाटन गर्नुहुदैँ प्रमुख आयुक्त थपलियाले सामाजिक सञ्जालको सदुपयोग गरेर शिष्ट भाषामा निर्वाचनको प्रचार प्रसार गर्न सकिने बत्ताउनुभयो ।  सामाजिक सञ्जालको दुरुपयोग गरेर दुष्प्रचार घृणास्पद अभिव्यक्ति र भ्रमपूर्ण सूचना प्रवाह नगर्न पनि उहाँले आग्रह गर्नुभयो । 


चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले  सञ्चारकर्मीले निर्वाचन सुरक्षालाई ध्यानमा दिएर कलम चलाउन आग्रह गर्नुभयो । उहाँले आचार संहिताको पालना गर्न सबैसँग आग्रह गर्दै पालना नगर्ने जो कोहीलाई पनि कारबाही गर्ने बताउनुभयो । चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र  थापाले निर्वाचनसँग सम्बन्धित सही र तथ्यपूर्ण अवस्था देखाउन पत्रकारलाई आग्रह गर्नुभयो ।  

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्रले निर्वाचनका समाचार प्रकाशन र प्रसारण गर्दा सन्तुलन कायम गरिरहेको र यसलाई निरन्तरता दिने बताउनुभयो । आचारसंहिता पालना गरेर सूचना प्रवाह गर्न समाचारदाताहरुसँग आग्रह गर्दै अध्यक्ष सुवेदीले मतदाताहरूलाई मतदान प्रति उत्साहित र प्रोत्साहित हुने खालका समाचार लेख्न पनि सुझाव दिनुभयो । 


संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र संस्थान आम निर्वाचनलाई सफल बनाउन दृढतापूर्वक लागिपरेको बताउनुभएको छ । राष्ट्रिय दायित्व भएकाले गोरखापत्र संस्थानका सबै प्रकाशनहरूले जिम्मेवारीपूर्वक निर्वाचनको समाचार सामग्री सम्प्रेषण गरिरहेको उहाँले बताउनुभयो । उहाँले समाचारदाताहरूले समाचार लेख्दा मतदाताको चासोला सम्बाेधन र उहाँहरूलाई सुसूचित गराउने खालका सामग्रीहरु प्रकाशनमा जोड दिने बताउनुभयाे । 

कार्यक्रममा गोरखापत्रका  प्रधानसम्पादक शिवकुमार भट्टराई, दि राइजिङ नेपालका प्रधानसम्पादक भीमसेन थपलिया, सञ्चारविज्ञ प्रतीक प्रधान, नायब कार्यकारी सम्पादक केपी गौतम, गोरखापत्र अनलाइनका सम्पादक नारद गौतमलगायतले निर्वाचनमा समाचार लेखन, समाचारदाताले ध्यान दिनुपर्ने कुराहरू, मतगणनापछिको समाचार लेखनका विषयमा प्रशिक्षण दिँदै हुनुहुन्छ । कुमार विवेकानन्द मिश्र, प्रशासन तथा व्यापार विभागका निर्देशक ओमप्रकाश भुसाल, संस्थानका प्रवक्ता बबिता कार्की, गण्डकी प्रदेशका संयोजक रमेश पौडेल, लुम्बिनी प्रदेशका संयोजक श्यामशङ्कर पाण्डे लगायत तीन प्रदेश जिल्ला समाचारदाताहरूको सहभागिता छ । 

Author

वसन्त पराजुली