• १७ असार २०८१, सोमबार

मतदाता सोध्छन् : कसरी मतदान गर्ने ?

blog

रामेछाप समाचारदाता

रामेछाप, कात्तिक २५ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्ने दिन नजिकिँदो छ तर रामेछापको मन्थली नगरपालिका–९ की ५० वर्षीया निरमाया मगरलाई चुनावमा मत कसरी हाल्ने भन्ने चिन्ताले सताएको छ ।

निर्वाचन नजिकै आइसक्यो तर निरमाया मगरलाई यो निर्वाचनमा मतपत्र कतिवटा छन् र कस्ताकस्ता रङका मतपत्र छन् भन्नेसमेत थाहा छैन । उहाँले भन्नुभयो, “मत हाल्ने दिन आइसक्यो, यो चुनावमा कतिवटा मतपत्र हुन्छन्, कस्ताकस्ता रङका मतपत्र हुन्छन् थाहा छैन । मत हाल्न सिकाउन पनि कोही आएका छैनन् ।” उहाँलाई जस्तै रामेछाप नगरपालिका–८, आरुबोटेका ५५ वर्षीय बलबहादुर विकलाई पनि मतदान कसरी हाल्ने भन्ने चिन्ता छ । उहाँलाई पनि कतिवटा मतपत्र छन्, कस्ता–कस्ता रङका मतपत्र छन् भन्नेसमेत थाहा छैन । उहाँले भन्नुभयो, “मत हाल्ने दिन आइसक्यो भन्छन्, आफूलाई मत हाल्न कसैले सिकाएका पनि छैनन्, चिन्ता पो भइरहेको छ ।”

मतदाता शिक्षा प्रभावकारी नबन्दा ग्रामीण क्षेत्रका धेरैलाई मतदान कसरी गर्ने भन्ने चिन्ता छ । स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम गर्दै नगरेको निर्वाचन आयोगले यो पटकको निर्वाचनमा पनि मतदाता शिक्षालाई काम चलाउन मात्रै बनाएको पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरेले बताउनुभयो । निर्वाचन कार्यालयले मतदाता शिक्षालाई गाउँगाउँमा पु¥याउने उद्देश्यले नभई झारो टार्ने गरी सञ्चालन गरे जस्तो मात्रै गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “निर्वाचन आयोगको निर्वाचन आचारसंहिता र मतदाता शिक्षा कार्यक्रममाथि सधैँ प्रश्न उठ्ने गरेको छ, यो पटक पनि यी दुवै कार्यक्रममा आयोग गम्भीर देखिएन ।”

देशभर जस्तै रामेछापमा पनि कात्तिक १८ गतेदेखि नै मतदाता शिक्षा सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी मधुकरकुमार साहले बताउनुभयो । निर्वाचन आयोगले बनाएको मतदाता शिक्षा निर्देशिका, २०७९ अनुसार जिल्लाको सबै वडामा मतदाता शिक्षाको कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ । “मतदाता शिक्षाका लागि एउटा वडामा एक जना स्वास्थ्य स्वयंसेविका खटाइएको छ,” उहाँले भन्नुभयो । दुई नगरपालिका र छवटा गाउँपालिकाको ६४ वटा वडा रहेको रामेछापमा एक प्रतिनिधि सभा सदस्य र दुईवटा प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदै छ । यो निर्वाचनका लागि जिल्लामा एक लाख ८० हजार मतदाता रहेका छन् ।

कतै नमुना मतदान

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि रामेछापमा पालिकास्तरमा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदान स्थलमा हुन सक्ने सम्भावित घटना र मत बदर सङ्ख्या कम गर्ने उद्देश्यले नमुना मतदान गरेको हो । जिल्लाको मन्थली, रामेछाप नगरपालिका र उमाकुण्ड गाउँपालिकामा नमुना मतदान गरिएको र अन्य पालिकामा पनि नमुना मतदान गराउने तयारी भइरहेको जिल्ला निर्वाचन अधिकारी मधुकरकुमार साहले बताउनुभयो । 

मतदान केन्द्रबाट मतपेटिका खोसिएको वा लुटिएको अवस्थामा प्रहरी तथा अन्य निकायले पालना गर्नुपर्ने आवश्यक भूमिकाका विषयमा 

जानकारीसहितको नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी साहले बताउनुभयो । उहाँका अनुसार मन्थली नगरपालिकामा भएको नमुना मतदानमा प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी, मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्मा, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिले मतदान गर्नुभएको थियो । 

निर्वाचन कार्यालयले जिल्लाको पालिकास्तरमा गराएको निर्वाचनका क्रममा आइपर्ने समस्याको समाधानसहितको नमुना मतदान अभ्यास प्रभावकारी रहेको रामेछापका प्रजिअ रेग्मीले बताउनुभयो । दुईवटा नगरपालिका र छवटा गाउँपालिकाको ६४ वटा वडा रहेको रामेछापमा एक प्रतिनिधि सभा सदस्य र दुई वटा प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदै छ । जिल्लामा ९६ वटा मतदान स्थल र २२६ वटा मतदान केन्द्र कायम गरिएको छ । रामेछापमा एक लाख ८० हजार मतदाता रहेका छन् ।

अठार सय कर्मचारी खटाइने

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि रामेछापमा एक हजार ८१७ जना कर्मचारी खटिने भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जिल्लामा निर्धारण भएको ९६ मतदान स्थल र २२६ मतदान केन्द्रका लागि कर्मचारी छनोट गरेको हो । 

मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी गरी एक हजार ८१७ जना कर्मचारी खटाउनका लागि छनोट गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । छनोट भएका कर्मचारीलाई कात्तिक २५ र २६ गते अभिमुखीकरण दिएर मतदान केन्द्रमा खटाउने मुख्य निर्वाचन अधिकृतको कार्यालयको तयारी छ । जिल्लाको दुईवटा नगरपालिका र छवटा गाउँपालिका गरी आठवटा स्थानीय तहमा दुई हजार पाँच सय जना सुरक्षाकर्मी परिचालन गर्ने तयारी जिल्ला सुरक्षा समितिले गरेको छ । जिल्लाभित्रको सुरक्षा संवेदनशीलतालाई हेरेर सुरक्षाकर्मी परिचालनको तयारी भइरहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र म्यादी प्रहरी परिचालन हुनेछन् । निर्वाचनमा ६५० जना नेपाल प्रहरी र एक हजार एक सय जना म्यादी प्रहरी परिचालन गर्ने प्रहरीले तयारी गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।