• १३ असोज २०८१, आइतबार

‘ह्याट्रिक’वाला विष्टलाई झाँक्रीको ‘डेब्यु’ चुनौती

blog

गोविन्द रेग्मी/तिलाचन पाण्डे

गुल्मी, कात्तिक २५ गते । नेपालको कम्युनिस्ट आन्दोलनमा फरक खालको छवि बनाएका नेता हुनुहुन्छ गोकर्ण विष्ट र रामकुमारी झाँक्री । नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा लामो समय सङ्घर्ष गर्दै आउनुभएका विष्ट र नेत्री झाँक्रीको पहिचान युवामाझ लोकप्रिय छ । एमाले पार्टी विभाजनअघि विष्ट र झाँक्री दुवै माधव नेपाल–झलनाथ खनाल खेमामा हुनुहुन्थ्यो । पार्टी विभाजनपछि विष्ट एमालेमै बस्नुभयो । हिजो एउटै पार्टीबाट राजनीतिमा होमिनुभएका विष्ट र झाँक्री अहिले फरक पार्टीबाट मङ्सिर ४ गते हुने प्रतिनिधि सभाका लागि गुल्मी–२ बाट चुनावी मैदानमा उत्रनुभएको छ । यति बेला विष्ट र झाँक्रीको उम्मेदवारीको चर्चा देशभर चुलिएको छ । 

सरकारमा मन्त्री भइसकेका दुवै नेता नेकपा (एमाले) विभाजनसँगै फरक पार्टीको समेत एउटै पदमा हुनुहुन्छ । गृह जिल्लासमेत एउटै भएका विष्ट एमालेका सचिव हुनुहुन्छ भने झाँक्री पनि नेकपा (एकीकृत समाजवादी)को सचिव नै हुनुहुन्छ । दुवै नेतालाई अहिले घरदैलो कार्यक्रम र मतदातासँग मत माग्न भ्याइनभ्याई छ । घरदैलो कार्यक्रममा यी दुवै नेताले अहिले एक–अर्कोलाई कटाक्षसमेत गरिरहनुभएको छ । यस पटकको चुनावी लडाइँ प्रतिगामी पक्षधर र अग्रगामीबीचको भएकाले आफ्नो जित सुनिश्चित भएको नेत्री झाँक्रीले बताउनुभयो । “निरङ्कुश शासनका विरुद्ध सबैखाले मोर्चामा सफलता पाउँदै आएकाले गुल्मीका जनताले मलाई जिताउनेमा विश्वस्त छु । सदावहार एउटै व्यक्ति जित्नुपर्ने र नेतृत्व गर्नुपर्ने भन्ने जुन जकडिएको विचार छ । यसलाई गुल्मीका जनताले चिर्नेछन्,” झाँक्री भन्नुहुन्छ । 

यसअघि एमालेको समानुपातिक सूचीबाट सांसद बन्नुभएकी झाँक्री गठबन्धन दलको समर्थनमा पहिलो पटक प्रत्यक्षतर्फ मैदानमा उत्रनुभएको हो । यता २०५६, २०७० र २०७४ मा प्रत्यक्ष चुनाव जितेर संसद्मा ह्याट्रिक गरिसक्नुभएका विष्टलाई संसद् र निर्वाचनको राम्रो अनुभव छ । उहाँ २०६४ मा भने माओवादीका चन्द्रबहादुर थापासँग पराजित हुनुभएको थियो । “गुल्मीका जनतासँग भिज्दै आएको र जनताको सुख–दुःखमा काम गरिरहेकाले मैले जितबाहेक केही देखेको छैन,” विष्टले भन्नुभयो । उहाँले नेपाली राजनीतिमा अवसरका लागि बन्ने कित्तालाई यस पटकको निर्वाचनमा जनताले निमिट्यान्न पार्ने दाबीसमेत गर्नुभयो । 

स्थानीय जनतालाई समेत यी दुईबीचको नतिजाबारे आकलन गर्न गाह्रो छ । समाजसेवी सञ्जीव काफ्लेले झाँक्रीको भरोसा गठबन्धनमै भएको बताउनुभयो । 

“कांग्रेसले उम्मेदवार नउठाएकाले झाँक्रीको सम्भावना बढेको छ । यसअघि जितेकाले विकास निर्माणमा के गरे भन्ने पनि लेखाजोखा होला । रिढीदेखि तम्घाससम्मको बाटो कहालीलाग्दो छ । तीन पटक जितेर सत्तामा पुगेका विष्टले यहाँ के गरे ? जनताले देखेकै छन्,” काफ्लेले भन्नुभयो । एउटै घरका बाबु–छोरा त फरक छन् भने पार्टी नै फरक भएर लड्नु अनौठो नरहेको समेत काफ्लेले बताउनुभयो । यता गुल्मी–२ का स्थानीय सन्तोष पुन सङ्गठनको हिसाबले एमालेबाट विष्टलाई जित्न गाह्रो नरहेको बताउनुहुन्छ । “यस क्षेत्रमा कांग्रेसको उम्मेदवार नभएकाले झाँक्रीप्रति सहानुभूति देखिनु स्वाभाविक हो । लामो इतिहास बोकेका विष्टलाई हराउन झाँक्रीलाई कठिनै होला । विष्टको यस क्षेत्रमा प्रभाव राम्रै छ । अनुभव र सरल स्वभाव उनको जित्ने आधार हो,” पुनले भन्नुभयो । 

यस पटकको स्थानीय निर्वाचनको मतका आधारमा पनि गुल्मी–२ मा गठबन्धन र एमालेको टक्कर नै देखिन्छ । गत वैशाखमा भएको स्थानीय निर्वाचनमा एमाले गठबन्धन दलभन्दा ७९७ मतले मात्र पछाडि थियो । स्थानीयमा गठबन्धनले ३२ हजार ३२० र एमालेले ३१ हजार ५२३ मत पाएको थियो । तीन पटक निर्वाचन जित्नुभएका ‘ह्याट्रिक’वाला विष्टसँग भूगोलको राजनीतिमा पहिलो पटक ‘डेब्यु’ गर्नुभएकी झाँक्रीको भिडन्त कडा हुने अनुमान गरिएको छ । प्रतिनिधि सभासँगै गुल्मी–२ मा प्रदेश सभाको भिडन्त पनि रोचक हुने देखिएको छ । प्रतिनिधि सभासँगै गुल्मीमा प्रदेश सभाको भिडन्तले पनि यहाँको माहोल तालेको हो । 

यहाँको प्रदेश सभा (क)मा १० जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये एमालेका डिल्लीराज भुसाल र सत्ता गठबन्धनका उम्मेदवार भुवन श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यस्तै प्रदेश सभा (ख)मा ८ जनाको उम्मेदवारी परे पनि एमालेका दिनेश पन्थी र सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका बुद्धि जीसीबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ । 

१४ वर्षदेखि एउटै मैदानमा भण्डारी र ज्ञवाली 

दुईवटा प्रतिनिधि सभा सदस्य रहेको गुल्मी–१ मा पनि अहिले चुनावी रौनकता चुलिएको छ । केन्द्रीय स्तरका प्रभावशाली दुई नेता मैदानमा उत्रिएपछि यहाँको चुनावी माहोल तातेको हो । नेपाली कांग्रेसका चन्द्र भण्डारी र नेकपा एमालेका प्रदीपकुमार ज्ञवालीबीच विगत १४ वर्ष (२०६४) देखि चौथो पटक प्रतिनिधि सभामा प्रतिस्पर्धा हुँदै छ । 

भेट्रान भण्डारी र ज्ञवाली घरदैलो र प्रचारप्रचार कार्यक्रममा व्यस्त हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा एमाले–माओवादीको गठबन्धनबाट निर्वाचन जित्नुभएका एमालेका उपमहासचिव ज्ञवालीले पाँचवर्षे कार्यकालमा आफूले जिल्लामा धेरै काम गरेकाले निर्वाचन जित्ने दाबी गर्नुभयो । वर्तमान गठबन्धनका कारण निर्वाचन जित्न कुनै समस्या नहुने भन्दै जनता सचेत भएकाले आफूले निर्वाचन जित्नेमा कुनै शङ्का नरहेको ज्ञवालीको तर्क छ ।

“कालीगण्डकी करिडोरको गुल्मी खण्डमा कालोपत्रे गरेर सक्ने, सडक पूर्वाधारमा स्तरोन्नति गर्ने, स्वास्थ्य संस्थाहरूबाट गुणस्तरीय सेवा प्रवाह गर्ने, सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने, खानेपानी तथा सिँचाइको सुविधा पु¥याउने, कृषिलाई व्यवसायीकरण गरी युवालाई स्वरोजगार बनाउने र बेरोजगार युवाहरूको तथ्याङ्क सङ्कलन गर्नेछु । घरदैलो कार्यक्रममा जाँदा मतदाताको मायाले मलाई उत्साहित बनाएको छ,” ज्ञवालीले भन्नुभयो । उहाँले आफ्नो योजना प्रतिबद्धतापत्रमा उल्लेख गरिएको पनि बताउनुभयो । यस्तै नेपाली कांग्रेस, माओवादी, समाजवादी र जनमोर्चाको गठबन्धनबाट निर्वाचनको प्रतिस्पर्धामा होमिनुभएका नेपाली कांग्रेसका नेता भण्डारीले पाँचवर्षे कार्यकालमा ज्ञवालीले अवसर पाएर पनि केही काम गर्न नसकेकाले गुल्मीलाई नमुना जिल्ला बनाउने गरी आफू निर्वाचनमा होमिएको बताउनुभएको छ ।

“जनताले चुनेर पठाएका प्रतिनिधिले संविधानलाई पटक पटक कुल्चने काम भयो । संविधानको रक्षा गर्न, आमनागरिकको जीवनशैलीमा परिवर्तन ल्याउन आवश्यक छ । त्यसैका लागि म प्रतिस्पर्धामा आएको हुँ । मेरो जित सुनिश्चित छ,” भण्डारीले भन्नुभयो, “गुल्मी जिल्लालाई विकासको माध्यमबाट नमुना जिल्ला बनाउन, युवाहरूलाई स्वदेशमा नै रोजगारीको सिर्जना गर्न, बाध्यात्मक अवस्थामा युवाहरूलाई वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्न, समाजमा रहेका निम्न वर्गका नागरिकहरूको स्वरोजगारको माध्यमबाट आत्मनिर्भर बनाई दैनिक जीवनशैलीमा परिवर्तन ल्याउन म प्रतिबद्ध छु ।” २०६४ सालको निर्वाचनमा ज्ञवाली, २०७० मा भण्डारी, २०७४ मा ज्ञवाली निर्वाचित हुनुभएको हो । यसरी हेर्दा गुल्मी १ का मतदाताले आलोपालो नेतृत्वमा पुग्ने अवसर ज्ञवाली र भण्डारीलाई दिएका छन् । कतिपयले आलोपालोअनुसार यसपटक भण्डारीको पालो रहेको बताउँदै आएका छन् ।

गुल्मी–१ मा ५० वटा वडामध्ये गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा २३ वटा वडामा एमाले, २२ वडामा कांग्रेस, तीनवटा वडामा माओवादी केन्द्र र दुईवटा वडामा अन्य दलले जितेका थिए । यहाँको प्रदेश सभा (क)मा गठबन्धनतर्फबाट माओवादी केन्द्रका सुदर्शन बराल र एमालेबाट चिन्तामणि पाण्डे, प्रदेश सभा (ख)मा गठबन्धनबाट कांग्रेसका धनेन्द्र कार्की र एमालेबाट फर्सुराम पाण्डेबीच प्रतिस्पर्धा हुँदै छ ।