• १२ मंसिर २०८१, बुधबार

समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्छ : कार्यवाहक राष्ट्रपति पुन

blog

नेपाल–चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधरण सभालाई सम्बोधन गनुहुँदै कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुन । तस्बिर : रासस

काठमाडौं, कात्तिक २४ गते । कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले आर्थिक, सामाजिक रूपान्तरण सहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार नेपाल–चीन उद्योग वाणिज्य सङ्घको २३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गनुहुँदै कार्यवाहक राष्ट्रपति पुनले आर्थिक सामाजिक रूपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘भविष्यमा आर्थिक महाशक्तिको नेतृत्व गर्ने उद्देश्य बोकेको चीनसँग नेपालको व्यावसायिक सम्बन्ध विकास हुनु हाम्रो लागि ठूलो अवसर पनि हो । नेपालका मौलिक उत्पादनहरू चिनियाँ बजारमा निर्यातको अवसर पाउँदा देशको अर्थतन्त्रको तस्बिर नै बदलिन सक्छ । नेपालको कृषिजन्य उत्पादन, जडीबुटी र खनिजन्य सामग्री चीन निर्यात गर्न सकिन्छ । चीनका बजारमा नेपाली वस्तु निर्यातका लागि प्राथमिकता दिनुपर्छ भन्ने लाग्छ । यसका लागि नेपाल चीन उद्योग वाणिज्य सङ्घ लगायतका संस्थाहरूले समन्वय र सहकार्य गर्न आवश्यक देखिन्छ ।’’

उहाँले नेपाल उत्पादित वस्तुमा आत्मनिर्भर भई निर्यात वृद्धि गर्न नसकेसम्म मुलुक आर्थिक रूपमा समृद्धि हुन नसक्ने बताउनुभयो । उहाँले नेपाली उत्पादित वस्तु चीनमा निर्यात बढाउनको लागि नेपाल–चीन उद्योग वाणिज्य सङ्घ लगायतका संस्थाहरूले समन्वय र सहकार्य गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यवाहक राष्ट्रपति पुनले सरकारले आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाए पनि मुलुकको व्यापारको अवस्था भने सन्तोषजनक नभएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तीन महिनाको आर्थिक तथ्याङ्क हेर्दा चीन तर्फको निर्यात निरन्तर घट्दो अवस्था रहेको भन्दै यस्तो हुनु नेपालको अर्थतन्त्रका लागि सकारात्मक सन्देश नभएको बताउनुभयो ।

‘‘आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाएको हाम्रो देशको व्यापारको अवस्था भने सोचेको जस्तो छैन । वा सन्तोषजनक देखिँदैन । अहिले नेपालको व्यापार चीन र भारतसँग धेरै असन्तुलन रहेको छ ।,’’ कार्यवाहक राष्ट्रपति पुनले भन्नुभयो, ‘‘गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तीन महिनाको आर्थिक तथ्याङ्क हेर्दा चीन तर्फको निर्यात निरन्तर घट्दो छ । नेपालले चीनबाट १०० रुपियाँको वस्तु आयात गर्दा ३० पैसा बराबरको मात्रै निर्यात गर्ने गरेका छौँ । यस्तो हुने नेपालको अर्थतन्त्रका लागि सकारात्मक सन्देश होइन ।’’

उहाँले अल्पविकसित मुलुकबाट निर्यात हुने ९० प्रतिशत वस्तुहरूको भन्सार शुल्क शून्य बनाउने चीनको नीति नेपालको लागि राम्रो अवसर हुनसक्ने बताउनुभयो । उहाँले नेपालका मौलिक उत्पादनहरू चिनियाँ बजारमा निर्यात गर्नसके देशको अर्थतन्त्रको मुहार परिवर्तन हुने उल्लेख गर्नुभयो । कार्यवाहक राष्ट्रपति पुनले नेपालको कृषिजन्य उत्पादन, जडीबुटी र खनिजजन्य सामग्री चीन निर्यातको ठूलो सम्भावना रहेको बताउनुभयो ।

‘‘अल्पविकसित मुलुकबाट निर्यात हुने ९० प्रतिशत वस्तुहरूको भन्सार शुल्क शून्य बनाउने चीनको नीति नेपालको लागि राम्रो अवसर हुनसक्छ । कोभिडको कारण चीनका नाकाहरूमा सहज नहुँदा समस्याहरू आएका छन् । नेपालहरूको आर्थिक सामाजिक रूपान्तरण सहितको समृद्धि राष्ट्र निर्माणका लागि नेपाल सरकारले मुलुकको अर्थतन्त्रमा व्यापक सुधार गर्नु पर्ने आवश्यकता देखिन्छ । जबसम्म हामीले सबै क्षेत्रमा आत्मनिर्भर हुँदै निर्यातमा वृद्धि गर्न सक्दैनौँ । तबसम्म समृद्धि हासिल गर्न सक्दैनौँ ।’’ उहाँले भन्नुभयो ।

कार्यवाहक राष्ट्रपति पुनले नेपाल एक चीन नीति प्रति सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल र चीनबीच पुरानो सम्बन्ध रहँदै आएको भन्दै दुई वर्षअघि चीनका राष्ट्रपतिको नेपाल भ्रमण पश्चात् चीनसँगको सम्बन्ध थप नयाँ उचाइमा पुगेको उहाँको भनाइ छ । उहाँले पञ्चशीलको सिद्धान्तमा आधारित दुई देशबीचको सम्बन्ध विविध क्षेत्रमा बिस्तार हुँदै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपाल र चीनबीच पुरानो सम्बन्ध रहँदै आएको छ । दुई देशबीच सुमधुर मैत्रीपूर्ण सम्बन्धको लामो इतिहास रहेको छ । नेपाल र चीनबीच १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएता पनि प्राचीन कालदेखि ऐतिहासिक सम्बन्धहरू रही आएका छन् । दुई वर्षअघि चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्नुभएपश्चात् सम्बन्ध नयाँ उचाइमा पुगेको छ ।’’ उहाँले भन्नुभयो ।

उहाँले थप्दै भन्नुभयो, ‘‘नेपाल एक चीन नीति प्रति सधैँ प्रतिबद्ध पनि छ । पञ्चशीलको सिद्धान्तमा आधारित दुई देशबीचको सम्बन्ध विविध क्षेत्रमा बिस्तार हुँदै आएका छन् । नेपालले थप सम्बन्ध सुधारको लागि नयाँ सहयोगका क्षेत्रहरू पनि पहिचान गरेका छौँ । आर्थिक कूटनीतिकका माध्यमबाट दुई देशको सम्बन्ध अझै विस्तार हुने मैले विश्वास लिएको छु ।’’

उहाँले नेपालले चीनसँग थप सम्बन्ध सुधारका लागि नयाँ सहयोगका क्षेत्रहरू पनि पहिचान गरेको बताउनुभयो । उहाँले आर्थिक र कूटनीतिकका माध्यमबाट दुई देशको सम्बन्ध अझै विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।