• १२ साउन २०८१, शनिबार

मोरङ १ मा लिम्बू र खतिवडाको प्रतिस्पर्धा

blog

मोरङ क्षेत्र नम्बर १ मा का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेकपा (एमाले)का घनश्याम खतिवडा र नेपाली कांग्रेसका डिगबहादुर लिम्बू ।

हरिप्रसाद कोइराला 

उर्लाबारी, कात्तिक २४ गते । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बू र निवर्तमान सांसद  नेकपा (एमाले)का घनश्याम खतिवडा तेस्रो पटक प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । 

दोस्रो संविधानसभाको निर्वाचन २०७० मा डिगबहादुर लिम्बू १५ हजार २०२ मतसहित संविधानसभा सदस्य निर्वाचित हुँदा घनश्यामले १२ हजार ९८९ मत प्राप्त गर्नुभयो । खतिवडालाई हराएर संविधान निर्माण गर्न सिंहदरबार छिर्नु भएका कांग्रेस सभापति लिम्बू २०७४ सालमा वाम गठबन्धनको साझा उमेद्वारा बन्नु भएका खतिवडासँग पराजित हुनुभयो । वाम गठबन्धनबाट उम्मेदवार बन्नु भएका खतिवडाले ३७ हजार ५२४ मतसहित विजयी हुँदा डिगबहादुर लिम्बूले ३१ हजार ४३६ मत प्राप्त गर्नुभयो । यो पटक उहाँबीच तेस्रो पटक चुनावी प्रतिस्पर्धा भइरहेको छ। 

उत्तरी मोरङको लेटाङ २ का स्थायीवासी खतिवडा र लेटाङ ६ कै लिम्बू पूर्व शिक्षक हुनुहुन्छ । शिक्षण पेसा छोडेर पूर्णकालीन राजनीतिमा लाग्नु भएका खतिवडा र लिम्बू फरक दल भए पनि आरोप प्रत्यारोप भन्दा विकास एजेन्डामा केन्द्रित भएर मत मागिरहनु भएको छ । 

भूगोलको आधारमा जिल्लाको सबैभन्दा ठूलो निर्वाचन क्षेत्र मोरङ १ मा उत्तरी मोरङका केराबारी र मिक्लाजुङ गाउँपालिका, लेटाङ नगरपालिका र पूर्वी मोरङको उर्लाबारी नगरपालिका पर्छन् । गुराँस फुल्ने पहाडदेखि साल फुल्ने तराईसम्म फैलिएको मोरङ १ मा उर्लाबारीबाहेक सबै पालिकामा पहाडी गाउँ पर्छन् । 

१ लाख २३ हजार ६१५ जना मतदाता रहेको निर्वाचन क्षेत्रमा नौ दल  र पाँच स्वतन्त्र उमेद्वारा गरेर १४ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । राप्रपाका होमनाथ गौतम उर्लाबारी कै भएकोले उहाँको प्रचार उर्लाबारी केन्द्रित छ । यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका लक्ष्मीप्रसाद कवाँ, हाम्रो नेपाली पार्टीका राजेन्द्रप्रसाद पौडेल, मङ्गोल नेशनल अर्गनाइजेसनका सुरज लिम्बू, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बुद्धमाया लिम्बू,राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबहादुर श्रेष्ठ र राष्ट्रिय जनमुक्त पार्टीका हर्कमान सम्बाहाम्फे चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यस्तै पाँच जना स्वतन्त्र उमेद्वारमा तिलकबहादुर मगर, मनीषा सुवेदी, फुलकुमारी पण्डित, निलु लिम्बू र यामप्रसाद दाहाल रहनु भएको छ ।  

एमाले उमेद्वारा घनश्याम खतिवडा नीति निर्माण र यस क्षेत्रका समस्या सदनमा उठाउने प्रतिबद्धतासहित चुनावी अभियान चलाई रहनु भएको छ । खतिवडाले गोरखापत्रसँग भन्नुभयो, ‘नदी नियन्त्रण र व्यवस्थापन, स्वच्छ  र शुद्ध  खानेपानीको पहुँच विस्तार , आधारभूत स्वास्थ्य निःशुल्क र पूर्वपश्चिम राजमार्गसँग उत्तरी मोरङका सबै वडालाई कोलोपत्रे सडकको सञ्जालले जोड्ने प्रमुख एजेन्डासहित मतदातासँग पुगिरहेको छु । उहाँले देशको बिग्रिएको अर्थतन्त्रलाई सुर्धान सहकारी अभियानलाई अझ प्रभावकारी ढङ्गले विस्तार गर्ने बताउनु भयो । 

काङ्ग्रेस उमेद्वारा डिगबहादुर लिम्बूले उत्तरी मोरङको कृषि पर्यटनलाई विकास गर्न सडक सञ्जाल र विद्युत् विस्तारलाई सबैभन्दा प्राथमिकतामा राखेको बताउनुभयो । कृषिबाट आयआर्जन गर्न सकिने उत्तरी मोरङको अलैँची, अम्लिसो, तेजपातको उत्पादन भण्डारण र प्रशोधनका लागि पहल गर्ने लिम्बूको भनाइ छ । 

उत्तरी मोरङको तत्कालीन निर्वाचन क्षेत्र नम्बर १ मा संविधानसभा सदस्य भएको बेला आफूले गरेका विकास निर्माण, सडक सञ्जाल विस्तार र खोलामा पुल निर्माण, नदी नियन्त्रणका कामलाई हेरेर मतदान गर्न लिम्बूले आग्रह गर्नुभएको छ । जनजातिको बाहुल्यता रहेको क्षेत्र भएकोले जातीय सङ्ख्याको आधारमा पूर्व प्राथमिक शिक्षा मातृभाषामा पढ्न पाउने व्यवस्था पनि लिम्बूले घोषणा पत्रमा समेट्नु भएको छ । 

मोरङ निर्वाचन क्षेत्र नम्बर १ का दुवै प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेस उमेद्वारा छैनन् ।  त्यसकारण लिम्बूको जित सहज हुने अनुमान गरिएको छ । गत स्थानीय तहको निर्वाचनमा वडागत परिणामलाई हेर्ने हो भने यो क्षेत्रमा कांग्रेसभन्दा एमाले १ हजार ५ सय १३ मतले अगाडि देखिन्छ । चार पालिकाका ३७ वटा वडाको मतपरिणाम हेर्ने हो भने  एमालेले ३३ हजार ५६ मत पाएको छ । यो मत कांग्रेस उमेद्वारले पाएको मत भन्दा १ हजार ५ सय १३ मतले बढी हो । एमालेलाई जनता समाजवादीको ४९३ थपिने छ । यस्तै काङ्ग्रेसले ३१ हजार ५४३ मत पाएको थियो । काङ्ग्रेसलाई अहिले  माओवादी केन्द्रले प्राप्त गरेको ५ हजार ८१९ र एकीकृत समाजवादीले प्राप्त गरेको  १ हजार ७५ मत थपिन सक्ने अनुमान गरिएको छ । गत स्थानीय निर्वाचनमा सत्ता गठबन्धनले ३८ हजार ४३७ मत  प्राप्त गरेको थियो भने एमाले र जसपाको मत ३३ हजार ५४९ रहेको थियो । 

मोरङ १ (क)मा माओवादी केन्द्रका निवर्तमान सांसद कुलप्रसाद साँवा सत्ता गठबन्धनका उमेद्वारा हुनुहुन्छ । एमालेले उमाकान्त गौतमलाई उमेद्वारा बनाएको छ । प्रदेश निर्वाचन क्षेत्र १ (क)मा चार दल र १ स्वतन्त्र उमेद्वारा चुनावी मैदानमा हुनुहुन्छ । राप्रपाले पूर्णबहादुर वाइबा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले अर्जुन सिंह लिम्बू र मङ्गोल नेशनल अर्गनाइजेशनले शिवकुमार राईलाई उमेद्वारा बनाएको छ । 

त्यस्तै खड्गबहादुर थापा स्वतन्त्र उमेद्वारा हुनुहुन्छ । मोरङ १ (क)मा स्थानीय निर्वाचनमा गठबन्धनले जितेका वडा पर्ने भएकोले लोकतान्त्रिक वाम गठबन्धनका उमेद्वारा एमाले उमेद्वारा भन्दा बलियो देखिनु भएको छ । यहाँ ६४ हजार ४८२ मतदाता रहेका छन् । 

मोरङ १ (२) मा प्रदेश सरकारका यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका उमेद्वारा हुनुहुन्छ । एमालेका पूर्वसहकर्मी एवं जिल्ला विकास समिति मोरङका पूर्व सभापति खड्गबहादुर बस्नेतलाई प्रतिद्वन्द्वी पाउनु भएका मन्त्री घिमिरे नेकपा एकीकृत समाजवादीका तर्फबाट उमेद्वारा बन्नु भएको हो । 

मोरङ १ प्रदेशसभा (ख)मा छ दल  र एक स्वतन्त्र उमेद्वारा प्रतिस्पर्धामा हुनुहुन्छ । राप्रपाले सन्तोष कार्की, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले कृष्णकुमार लिम्बू, मङ्गोल नेशनल अर्गनाइजेसनले ओमकुमार लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीबाट टङ्कबहादुर गुरुङ र स्वतन्त्र उमेद्वारा दीपक राई चुनावी मैदानमा हुनुहुन्छ ।