• १९ पुस २०८१, शुक्रबार

विकास अलपत्र परेकाले राजनीति छाड्न सकिनँ : वरिष्ठ नेता पौडेल

blog

मतदातासँग नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल। तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक २४ गते। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल विकास अलपत्र परेकाले उम्मेदवार बनेको बताउनुभयो। 

भानु नगरपालिका-१२ ओख्लेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले तनहुँमा २०७४ को चुनाव हारेपछि यहाँको विकास अलपत्र परेको बताउनुभयो । 

‘‘अलपत्र परेको विकासलाई गति लिन म उम्मेदवार बनेको हुँ’’ नेता पौडेलले भन्नुभयो,  ‘‘गठबन्धन सरकार बनाएर अघि बढेपछि तनहुँको विकास पुनः जुरमुर्‍याएको छ।’’ बुद्धसिंह मार्ग कालोपत्रे गर्न ४६ करोडको टेन्डरको काम सुरु भएको उहाँले बताउनुभयो। मादी मर्स्याङ्दी सडक र शालिग्राम मार्गका लागि ४०-४० करोडको बजेट निकासा भएर काम सुरु हुन लागेको पौडेलको भनाइ छ।

जनतामा व्याप्त निराशा हटाउन यहाँ सुशासनको खाँचो  भएको पौडेलले बताउनुभयो। सुशासन दिने नैतिक सामर्थ्य मैले बचाएर राखेको पौडेलले बताउनुभयो। ‘‘बहुदल आएपछि गाउँ-गाउँमा आधुनिक सुविधाका पूर्वाधार पुर्‍याएका छौँ’’, पौडेलले भन्नुभयो, ‘ती कति अधुरा छन्, अपूर्ण छन्। तिनलाई पूरा गर्नु छ। आगामी पाँच वर्षमा एउटा उल्लेखनीय प्रगति हुनेछ।’’

सबै गाउँमा कालोपत्रे सडक पुर्‍याउने नेता पौडेलले दाबी गर्नुभयो। नेता पौडेलले बिहीबार भानु नगरपालिका विभिन्न वडामा मतदातासँग भेटघाट गर्नुभएको छ।