• १६ भदौ २०८१, आइतबार

कसैलाई अवसरबाट वञ्चित गरिँदैन : अध्यक्ष ओली

blog

विष्णुप्रसाद पोखरेल

दमक, कात्तिक २३ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई पनि अधिकार र अवसरबाट वञ्चित नगर्ने व्यवस्था ल्याउने प्रतिबद्धता जनाउनुभएको छ । 

झापाको दमकमा बिहीबार भएको चुनावी प्रचार कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । झापा क्षेत्र नं. ५ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहनुभएका ओलीले भयरहित अवस्थामा सुखी तवरले बाँच्न पाउने अवस्था सिर्जना गर्नुपर्ने दायित्व आफूहरूमा रहेको चर्चा गर्नुभयो । विकासका लागि दूरदृष्टि आवश्यक रहेको उहाँले बताउनुभयो । 

शिक्षा, स्वास्थ्य, आवासलगायतको आधारभूत सुविधामा सबैको पहुँच बनाउन आवश्यक रहेको र त्यो एमालेले मात्र गर्नसक्ने उहाँले बताउनुभयो । ‘राज्यले दिने सुविधा र अवसरमा कसैमा पनि असमानता हुनु भएन भन्ने हाम्रो उद्देश्य हो’ उहाँले भन्नुभयो । 

एउटै मात्र उद्देश्य मुलुकलाई विकसित बनाउने र सुखी नेपाली, संवृद्ध नेपाल बनाउने रहेको उहाँले चर्चा गर्नुभयो । सदभावमा आधारित राष्ट्रिय एकतालाई मजबुत बनाउँदै अघि बढ्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । “राष्ट्रिय वैमनस्य होइन, राष्ट्रिय एकता कायम गरेर सम्बृद्धिको लक्ष्य हासिल गर्नुपर्छ’ अध्यक्ष ओलीले भन्नुभयो ।

भूगोलको नाममा, भाषाको नाममा, जातको नाममा, धर्मको नाममा विद्वेष फैलाउने काम बन्द गरिनु पर्ने उहाँको भनाइ छ । नेपाल बहुसांस्कृतिक, बहुधार्मिक, भौगोलिक विविधतासहितको देश भएकाले यही नै देशको पहिचान रहेको उहाँले बताउनुभयो ।