• १५ वैशाख २०८१, शनिबार

उम्मेदवार थापाको निधनप्रति कांग्रेसद्वारा शोक व्यक्त

blog

काठमाडौं, कात्तिक २३ गते । नेपाली कांग्रेसले मोरङ ३ (क) का प्रदेश सभा उम्मेदवार शेखरचन्द्र थापाको निधनप्रति शोक  व्यक्त  गरेको छ ।

प्रदेश नं. १ का निवर्तमान प्रदेशसभा सदस्य र वन, वातावरण तथा भू–संरक्षण मन्त्री एवम् मोरङ ३ (क) का नेपाली कांग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार थापाको ५७ वर्षको उमेरमा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा बुधबार बिहान निधन भएको थियो । थापा केही समयदेखि निमोनियाबाट पीडित हुनुहुन्थ्यो ।

कांग्रेसका मुख्य सचिव डा. प्रदीप पराजुलीले उम्मेदवार थापाको निधनप्रति शोक वक्तव्य जारी गर्नुहुँदै  कांग्रेसले उदाउँदै गरेको नेतृत्वलाई गुमाएको उल्लेख छ ।


वि.सं. २०७४ को निर्वाचनमा थापा कांग्रेसका तर्फबाट प्रदेश नं. १ को प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिवका रूपमा समेत काम गर्नुभएका थापाले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

त्यस्तै, थापाको निधनप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले भन्नुभएको छ, ‘‘प्रदेश नं. १ का मन्त्री, निवर्तमान प्रदेशसभा सदस्य, एवम् मोरङ ३(१) का प्रदेशसभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधनको खबरले मलाई स्तब्ध र दुःखित बनाएको छ । स्वर्गीय थापाले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पुर्‍याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहनेछ । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’’

सम्बन्धित समाचार