• १२ साउन २०८१, शनिबार

अन्योलमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मतदाता

blog

फाइल तस्बिर

बरगाँछी समाचारदाता

विराटनगर, कात्तिक २३ गते । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सहभागी हुन सबै समुदाय उत्साहित रहेका बेला यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भने निराश छ । दलहरूले समुदायका समस्याका बारेमा चासो नदेखाएका कारण समुदायमा निराशा छाएको हो । प्रदेशमा हुने निर्वाचनमा दुई प्रतिशतसम्म उमेदवारका रूपमा समेत सहभागिता गराउने प्रतिबद्वता जनाएका दलहरूले आसन्न निर्वाचनमा पहिचानसहित मत जाहेर गर्ने वातावरण पनि नबनाएकोमा यस समुदायका मानिसहरूमा आक्रोश बढेको हो । 

निर्वाचनमा अन्य समुदायको सहभागिताका लागि विभिन्न कार्यक्रम र योजना सञ्चालन भएका छन् । कतिपय निर्वाचनमा सहभागिताका लागि मिति सार्ने काम भएको छ । तर, तेस्रोलिङ्गी समुदायको सुरक्षित सहभागिताको वातावरण बनाउन दलहरू उदासीन देखिएको गुनासो समुदायको रहेको छ । परिवर्तनशील समाज विराटनगरकी कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले विभिन्न जात जाति, लिङ्ग र अल्पसङ्ख्यकहरूका बारेमा बुझेका दलहरू तेस्रोलिङ्गी समुदायका बारेमा बेखबर देखिएको बताउनुभयो । 

“दलहरूसँग समुदायका विषयमा के कस्ता योजना छन् र हाम्रा समस्याहरू के के हुन भनेर बुझ्न बुझाउनै पाइएन,” श्रेष्ठ भन्नुभयो, “आफ्नो पहिचान लुकाएर मतदानमा सहभागी हुनपर्ने बाध्यतामा रहेका हाम्रो समुदायमा मतदानमा कसरी जाने भन्ने अन्योल रहेको छ ।” समुदायका हक हित र अधिकारका सबालमा स्थानीय दलहरू मौन देखिएका छन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि पहिचान र अवसरको सिर्जना गर्न राजनीतिक दलहरू अग्रसर बन्नुपर्ने उहाँको माग रहेको छ । 

“मेरो पहिचान छोराका रूपमा रहेको छ तर म महिलामा परिवर्तन भएकी तेस्रो लिङ्गी हुँ,” श्रेष्ठले भन्नुभयो । “अन्य मानिसहरू सँगसँगै लाइनमा बसेर मतदान गर्न अप्ठ्यारो छ,” दुर्गा माझीले बताउनुभयो, “सामान्य मानिसले छक्का, हिचडालगायतका शब्द प्रयोग गर्दै दुव्र्यवहार गर्नेसम्मको अनुभव हामीसँग छ ।’’ दलहरूको बेवास्ता र निर्वाचन आयोगकै फितलो प्रचार शैलीले पनि सबै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय निर्वाचनमा सहभागी हुन सकिरहेका छैनन् ।