• ४ जेठ २०८१, शुक्रबार

हुम्ला अस्पतालमा औषधिको चरम अभाव

blog

अस्पतालको औषधि बिनाको खाली भण्डारण । तस्बिर : राजन रावत

हुम्ला कात्तिक २२ गते । जिल्ला अस्पतालमा बिरामीका लागि आवश्यक पर्ने औषधिको अभाव देखिएको छ । आर्थिक वर्ष सुरु भएको चार महिना बितिसक्दा पनि प्रदेशबाट औषधि नआएको र जिल्लाले खरिद गर्ने औषधिसमेत ढुवानी समस्याले आउन नसकेपछि अस्पतालमा औषधिको अभाव भएको हो । 

पाँच दिनदेखि अस्पतालमा उपचार गर्दै आउनुभएकी सिमकोट गाउँपालिका–८ का अनिल शाहीले अस्पतालमा औषधि पाउने छोडेको बताउनुभयो । उहाँले अस्पतालमा भर्ना भएर उपचार गरिरहेको भए पनि औषधि भने बाहिर मेडिकल र फार्मेसीबाट किनेर ल्याउनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले आफू जस्तै सात जना अन्य बिरामी अस्पतालमा भर्ना भएर उपचार गरिरहेको भए पनि सबैले औषधि भने बाहिरबाट महँगाेमा किन्नुपर्ने परिस्थिति रहेको बताउनुभयो । चिकित्सकसँग बिरामीले चेकजाँच गरेपछि औषधि माग्न जाँदा औषधि नै नभएको जवाफ पाउने गर्नुभएको छ । 

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले अस्पतालमा औषधिको चरम अभाव भएको बताउनुभयो । उहाँले अस्पतालको भण्डारमा औषधि नभएपछि बिरामीलाई चेकजाँच गरेर फिर्ता पठाउनुपर्ने अवस्था सृजना भएको बताउनुभयो । उहाँले विशेष गरी शल्यक्रिया गर्दा आवश्यक पर्ने औषधि, सुत्केरी गराउँदाका औषधि, दम, निमोनिया, अन्य दीर्घरोगीका बिरामीका लागि आवश्यक पर्ने लगायतका औषधिहरू अस्पतालसँग नभएको बताउनुभयो । उहाँले अस्पतालमा बिरामीका लागि बढी प्रयोग हुने सिटामोल हाल पन्ध्र हजार मात्र बाँकी रहेकोले केही दिनमा त्यसको समेत अभाव देखिने अवस्था रहेको बताउनुभयो ।

यही अवस्था रहे अस्पतालले बिना औषधि उपचार गर्नुपर्ने देखिएको छ । अस्पतालमा हालसम्म अघिल्लो आर्थिक वर्षको औषधि प्रयोग भइरहेको र नयाँ औषधि खरिद भएको भए पनि ढुवानी भएर आउन सकेको छैन । उहाँले यसका लागि कार्यालयमा औषधि खरिदका लागि आएको दश लाख रुपियाँबाट डेढ महिना अगाडि औषधि खरिद गरेको भए पनि हालसम्म सो औषधि नेपालगन्जबाट ढुवानी हुन नसकेपछि औषधिको अभाव भएको बताउनुभयो । 

नेपालगन्ज विमानस्थलमा सात क्विन्टल अत्यावश्यकदेखि सबै खाले औषधि खरिद गरेर राखिएको भए पनि त्यो ढुवानी हुन सकेको छैन । उहाँले विभिन्न एयरलाइन्सहरूसँग हारगुहार गर्दा पनि औषधी जस्तो संवेदनशील बस्तुलाई हालसम्म ढुवानी गर्न नमानेको बताउनुभयो । अर्को कुरा कार्यालयले प्रदेश आपूर्ति केन्द्र सुुर्खेतसँग दुई महिना अगाडि ७५ प्रकारका औषधि माग फारम भरेर पठाएको भए पनि सो औषधि केन्द्रबाट आएको छैन । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।