• १३ साउन २०८१, आइतबार

मापदण्डविपरीत दूध र पानी बिक्री

blog

वीरेन्द्रनगर समाचारदाता

सुर्खेत, कात्तिक २२ गते । सुर्खेतमा कम गुणस्तरका दूध तथा दुग्धजन्य पदार्थ र पानी बिक्री हुने गरेको पाइएको छ। 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतले चालू आर्थिक वर्षको तीन महिनामा अनुगमनका क्रममा फेला परेका गुणस्तरहीन तेल, घिउ, दूध र दुग्ध पदार्थ नष्ट गरेको छ। उहाँका अनुसार २१ हजार ९१० रुपियाँ बराबरको तेल तथा घिउजन्य पदार्थ र ७२० रुपियाँको दूध तथा दुग्ध पदार्थ नष्ट गरिएको कार्यालयले जनाएको छ। 

कार्यालय प्रमुख भेषबहादुर थापाले पछिल्लो समय दूध, पिउने पानी र तेलका सम्बन्धमा समस्या भएका गुनासा आउने थालेपछि अनुगमन बढाएको बताउनुभयो। सरकारले दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५ ल्याएको छ। खर्चिलो हुने भएकाले यो निर्देशिकाले तोकेको मापदण्ड पूरा गर्न साना डेरी उद्योग/पसलले नसकेको उहाँको भनाइ छ।  

अघिल्लो वर्ष १६ वटा डेरी कारबाहीमा परेकामा यस पटक पाँच/छवटामा अनुगमन गरिएको उहाँले बताउनुभयो। कार्यालयले चालू आर्थिक वर्षमा दूध तथा दुग्ध पदार्थ अनुगमनका क्रममा तीनवटा नमुना परीक्षण गरिएको थियो। एउटा नमुनामा न्यून गुणस्तर पाइएको छ। 

प्रमुख थापाले पिउने पानीमा लेबल कैफियत पाइएको बताउनुभयो। अहिले बोतल पानीको समस्या हटे पनि जारको पानीमा भने समस्या रहेको उहाँले बताउनुभयो। चालू आर्थिक वर्षको तीन महिनामा १० वटा पानीको नमुनाको परीक्षण गरिएको थियो।