गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २० गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा नेपालीहरूले आर्जन गरेको सीपलाई नेपालमा सदुपयोग गर्ने गरी वातावरण बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशनको बन्दसत्रमा आज आइतबार वरिष्ठ उपाध्यक्ष पोखरेलले सो प्रतिबद्धता जनाउनुभएको हो । निर्वाचनपछि स्वदेशमै रोजगारी र लगानीको वातावरण बनाउन एमालेले नीति लिएको उहाँको भनाइ छ । “विदेशमा रहेका नेपालीहरूले आफूसँग भएको सीप, धन र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यसका लागि अनुकूलको वातावरण र नीति एमालेले बनाउँछ” उहाँले भन्नुभयो ।
एमालेले घोषणापत्रमा रोजगारी र लगानीलाई विशेष प्राथमिकता राखेको पनि उहाँले जानकारी गराउनुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रवासी नेपाली मञ्चलाई महाधिवेशनसम्म ल्याउन निकै सङ्घर्ष गर्नुपरेको स्मरण पनि गर्नुभयो । सङ्गठन हार्दा पार्टीले हार्ने र पार्टीले हार्दा सङ्गठन हार्ने बताउँदै उहाँले सङ्गठनलाई बलियो बनाउन आग्रह गर्नुभयो । सर्वसम्मत नेतृत्व चयन गर्न पनि उहाँले मञ्चलाई आग्रह गर्नुभयो ।