काठमाडौं, कात्तिक १९ गते । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य दाङ क्षेत्र नम्बर ३ का नेकपा (एमाले)का उम्मेदवार कोमल वलीलाई निर्वाचन प्रचार-प्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणअन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचार-प्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’, व्यवस्था छ ।
“तपाईँले निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (ट)को प्रतिकूल हुने गरी निर्वाचन प्रचार-प्रसार गर्नु भएको होइन भन्ने आधार, प्रमाण के छ ? निर्वाचनका प्रक्रिया अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईँले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने कार्य गर्नुभएको हो ?”, आयोगको स्पष्टीकरणमा भनिएको छ ।
आयोगले निर्वाचन प्रचार–प्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै सो कार्य गरेको देखिएकाले आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ? भनी पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय दाङमा प्राप्त हुने गरी जवाफ पठाउन उम्मेदवार वलीलाई भनेको छ ।