• १२ मंसिर २०८१, बुधबार

मतपत्र छपाइको काम सम्पन्‍न, ढुवानी हुँदै

blog

निर्वाचन आयोग । फाइल तस्बिर

काठमाडौं, कात्तिक १८ गते। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम सम्पन्न भएको छ। 

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि चार करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरेर आठ करोड मतपत्र छपाइ सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतपत्र ढुवानी सम्पन्न भएको र प्रत्येक निर्वाचन क्षेत्रका लागि ढुवानी भइरहेको छ। 

शुक्रबार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लाको मतपत्र ढुवानी गरिएको छ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मतपत्र यसअघि नै ढुवानी भइसकेको छ।

आयोगका आयुक्त रामप्रसाद भण्डारीले मतपत्र छपाइ कार्यबारे स्थलगत जानकारीसमेत लिनुभएको छ। आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरेको थियो। मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर कायम हुने मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार ५७० जना रहेको प्रवक्ता पौडेलको भनाइ छ।