• १२ साउन २०८१, शनिबार

देशको समृद्धि नै मुख्य मुद्दा : नेता सिटौला

blog

विष्णुप्रसाद पोखरेल

दमक, कात्तिक १५ गते । नेपाली कांग्रेसका नेता एवम् झापा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाले आसन्न चुनावमा संविधानको रक्षा, देशको विकास, जनताको आर्थिक प्रगति र समृद्धि मुख्य मुद्दा रहेको बताउनुभएको छ । 

पूर्व उपप्रधान एवम् गृहमन्त्री समेत रहनुभएका उहाँले आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग बलिदानीपूर्वक ल्याएको गणतन्त्रको संस्थागत विकास गर्न पनि आफू विजय हुन आवश्यक रहेको बताउनुभयो ।  

गणतन्त्र विरोधीलाई रोज्ने कि गणतन्त्रबादीलाई रोज्ने भनेर अहिले हरेक मतदाताले छुट्याउन सक्नुहुन्छ भन्ने मलाई विश्वास छ, सिटौलाले भन्नुभयो । संविधान निर्माणमा मैले महत्त्वपूर्ण भूमिका खेलेको सबैलाई थाहा छ र अब कार्यान्वयनका लागि पनि मेरो आवश्यकता छ, सिटौलाले बताउनुभयो । 

संवैधानिक व्यवस्थाबाट आर्थिक, सामाजिक, राजनीतिक प्रगति गर्ने अवस्था सिर्जना गराउनु छ, उहाँको भनाइ छ । विकास निर्माणका काममा आफ्नो हिजो पनि ध्यान गएको र अब पनि जाने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

२०७० को संसदीय निर्वाचन पश्चात् झापा क्षेत्र नं ३ मा आफ्नो कार्यकालमा सडक, पुल, खानेपानी, स्वास्थ्य चौकी, विद्यालय, एयरपोर्ट बिस्तार, सामुदायिक भवन, तटबन्धन लगायतका १८० भन्दा बढी विकास आयोजनाहरू सुरु गरेको पनि सिटौलाले बताउनुभयो । गणतन्त्रको वकालत गर्ने कांग्रेस नेता सिटौला र राजतन्त्रको वकालत गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच निर्वाचनमा प्रतिस्पर्धा हुँदैछ ।