• १२ वैशाख २०८१, बुधबार

जनताको अवस्था बदल्न उम्मेदवार बनेको हुँ : वरिष्ठ नेता पौडेल

blog

व्यास नगरपालिका-११ बेलटारीमा आयोजित कार्यक्रममा बोल्नुहुँदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल। तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक १५ गते। नेपाली कांग्रेसका वरिष्ठ नेता तनहुँ-१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले जनताको अवस्था बदल्नको लागि उम्मेदवार बनेको बताउनु भएको छ। मङ्गलबार तनहुँको व्यास नगरपालिका-११ बेलटारीमा घरदैलो कार्यक्रमको सुरुवात गर्दै जनताको  बलिदानी, त्याग र लामो सङ्घर्षले व्यवस्था बदलिएको भए पनि अवस्था नबलिएको बताउनुभयो।

जनताको जीवनस्तर परिवर्तन गर्न रोजगारी र आम्दानीको अवसर गाउँ गाउँमा दिलाउन आफू लागि परेको उहाँले बताउनुभयो। 

‘गाउँमा विकास निर्माणमा लागौँ, जनताको जीवनस्तर उकास्नतिर लागौँ, जनतालाई रोजगारी र आम्दानी दिन तिर लाग्नुपर्छ’, उहाँले भन्नुभयो। मतमाग्ने क्रममा उत्साह, साथीको भरोसा थपिएको उहाँको भनाइ छ। ‘व्यवस्था बदलिएको छ। यसलाई कायम गर्दै हाम्रो अवस्था बदल्नतिर मेरो कदम जारी रहेकोले त्यो पुरा गर्न राजनीतिमा सक्रिय भएको हुँ’, नेता पौडेलले भन्नुभयो।