• १३ साउन २०८१, आइतबार

मतपत्र पुग्यो, पुगेन पाठ्यपुस्तक

blog

रजनी योगी

सुर्खेत, कात्तिक १५ गते । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि कर्णालीका हिमाली जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पु-याइएको छ । मतपत्र समयमै पुग्ने कर्णालीमा शैक्षिक सत्र सुरु भएको छ महिनासम्म पाठ्यपुस्तक भने पुग्नसकेका छैनन् ।

सरकारको शिक्षाप्रति गैरजिम्मेवारीपनले गर्दा बालबालिका खाली हात विद्यालय जान बाध्य छन् । कर्णालीका डोल्पा, हुम्ला, कालीकोटलगायतका हिमाली जिल्लामा अझै पाठ्यपुस्तक पुगेको छैन । निर्वाचनका लागि मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा र स्वस्तिक छापलगायतका निर्वाचन सामग्री पुगिसके । तर, कलिला बालबालिकाको भविष्यसँग जोडिएका पाठ्यपुस्तक पुग्न सकेका छैनन् ।

कालीकोटमा अभाव

कालीकोटमा पाठ्यपुस्तकको अभाव भइरहेको छ । नरहरिनाथ गाउँपालिकाका अधिकांश सामुदायिक विद्यालयमा सबै विषयका पाठ्यपुस्तक पुग्न सकेका छैनन् । अधिकांश बालबालिकाको हातमा सबै विषयका किताब पुग्न नसकेको शिक्षा शाखा प्रमुख दुर्गालाल न्यौपानेले बताउनुभयो । उहाँका अनुसार पाठ्यपुस्तकको ढुवानी ठेक्कामार्फत भएकाले बर्सेनि यस्तो समस्या भोग्नुपरेको हो ।

हुम्लामा अझै पुगेन

नयाँ शैक्षिक सत्र सुरु भएको छ महिना भइसकेको छ । हुम्लाका कतिपय विद्यालयका विद्यार्थीले अझै पनि पाठ्यपुस्तक पाएका छैनन् । सिमकोट गाउँपालिका–६ मा रहेको मानसरोवर माध्यमिक विद्यालयमा किस्ताकिस्तामा पाठ्यपुस्तक गयो । पटक–पटक पाठ्यपुस्तक आए पनि अहिले पनि कतिपय विद्यार्थीका हात खाली छन् । त्यहाँ सबै कक्षामा पर्याप्त पाठ्यपुस्तक नपुगेको बताइएको छ । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार यो वर्ष पनि समयमा पाठ्यपुस्तक आएनन् । विद्यार्थीको पढाइमा अन्योल भइरहेको छ । हुम्लामा केही थान पुस्तक त्रैमासिक परीक्षा सकिएपछि मात्र पुगेको थियो । त्यो पनि अपर्याप्त छ ।

तीन वर्षयता कोरोना महामारीका कारण अस्तव्यस्त बनेको पठनपाठन यस पटक पनि पाठ्यपुस्तक अभावमा अस्तव्यस्त नै भएको शिक्षकले बताएका छन् । सरकारले समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा विद्यार्थी मर्कामा परेको बताइएको छ । सिमकोट गाउँपालिकाका सामुदायिक विद्यालयका सबै कक्षामा पाठ्यपुस्तक अहिलेसम्म पुग्न नसकेको शिक्षा शाखाका प्राविधिक सहायक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

अदानचुली गाउँपालिकामा पनि सबै बालबालिकाले पाठ्यपुस्तक पाउन सकेका छैनन् । पाठ्यपुस्तक ढुवानीकर्ता र बिक्रेताको लापरबाहीकै कारण विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न नसकेको शिक्षा शाखा प्रमुख रनसुर रोकायाले बताउनुभयो । उहाँका अनुसार उक्त पालिकामा आधा विद्यार्थीले मात्रै अहिलेसम्म पाठ्यपुस्तक पाएका छन् । विगतका वर्षहरूमा पनि हुम्लालगायतका कर्णालीका हिमाली जिल्लामा समयमै पाठ्यपुस्तक पुगेका थिएनन् ।

सरकारको बेवास्ताका कारण शैक्षिक अवस्था लथालिङ्ग बनेको शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालका कर्णाली प्रदेश अध्यक्ष तुलाराम पाण्डेले बताउनुभयो । उहाँका अनुसार चुनावका मतपत्र समयमै पुग्छन् तर पाठ्यपुस्तक पुग्दैनन् ।

यता छिटफुट रूपमा पाठ्यपुस्तक अभाव रहेको जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशका प्रमुख धनबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार दैलेख, कालीकोट र सुर्खेतमा कक्षा ८ का किताब अभाव भएको छ । बाँकी जिल्लामा लगभग पाठ्यपुस्तक पुगिसकेको छ । 

उहाँले भन्नुभयो, “यो वर्ष पाठ्यपुस्तक छपाइमा ढिला हुन पुग्दा यस्तो अवस्था आएको हो ।” 

जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीले गर्दा पाठ्यपुस्तक अभाव भइरहेको बिहानी पुस्तक पसलका सञ्चालक शेरबहादुर खड्काले बताउनुभयो । अहिले पनि कक्षा ८ को सामाजिक र अङ्ग्रेजी विषयको पाठ्यपुस्तक अभाव छ ।