• १२ मंसिर २०८१, बुधबार

माओवादी केन्द्र, नेकपा एस, राप्रपा

तीन पार्टीका चुनावी घोषणापत्रमा आर्थिक एजेण्डा

blog

काठमाडौं, कात्तिक १४ गते । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को घोषणापत्रमा आत्मनिर्भर अर्थतन्त्रको एजेण्डा सार्वजनिक गरेका छन् ।

सोमबार तीन राजनीतिक पार्टी माओवादी केन्द्र, नेकपा एस र राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गर्दै आत्मनिर्भर अर्थतन्त्रमा जोड दिने प्रतिबद्धता जाहेर गरेका हुन् । तीन वटै पार्टीले आर्थिक ऐजेण्डामा कृषि, रोजगारी र संरचनागत सुधार गरी अर्थतन्त्र बलियो बनाउने घोषणा गरेका छन् ।

माओवादी केन्द्रले पनि आगामी निर्वाचनको घोषणा पत्रमार्फत वित्तीय सङ्घीयता पूर्णरुपमा कार्यान्वयन गरी सातै प्रदेशमा आत्मनिर्भर अर्थतन्त्रको आर्थिक एकाइको रूपमा विकास गर्ने घोषणा गरेको छ । घोषणापत्र पढ्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको मुख्य काम भनेको आर्थिक क्रान्ति भएको बताउनुभयो । उहाँले नेपालको आर्थिक समृद्धि र विकासको निम्ति केन्द्रित हुने धारणा व्यक्त गर्नुभयो ।

माओवादी केन्द्रको प्रतिबद्धतापत्र सार्वजनिक (पूर्णपाठसहित)

नेपालको अर्थ प्रणाली सामान्य तरिकाले परिवर्तन हुन सम्भव नभएको अध्यक्ष दाहालको भनाइ छ । उहाँले मुलुकको व्यापार घाटा कम गर्न राष्ट्रिय व्यापार प्रतिष्ठान, रोजगार निर्माणका लागि राष्ट्रिय रोजगार प्राधिकरण, राष्ट्रिय गौरवका कायोजनाका पुँजीगत खर्च वृद्धि गर्न राष्ट्रिय विकास आयोजना प्राधिकरण गठन गर्ने घोषणा गर्नुभयो ।

उहाँले सामूहिक उत्पादन प्रणाली विकास गर्ने,सार्वजनिक यातायातमा राज्यको भूमिका वृद्धि गर्ने, विकास निर्माणमा न्यायोचित वितरणमा जोड दिने बताउनुभयो । अध्यक्ष दाहालले वैदेशिक सैन्य गठबन्धन नगर्ने, दुई अङ्कको आर्थिक वृद्धि गर्ने, कृषि र किसानलाई केन्द्रबिन्दुमा राख्ने, कृषि योग्य जमिन बाँझो राख्ने प्रणालीको अन्त्य गर्ने, सामूहिक कृषि प्रणालीमार्फत कृषि उत्पादन वृद्धि गर्ने घोषणा गर्नुभयो ।

त्यस्तै, उहाँले किसानलाई बाली लगाउनुभन्दा अगाडि मल उपलब्ध गराउने प्रतिबद्धता गर्नुभयो । अध्यक्ष दाहालले रासायनिक मलको प्रयोग कम गर्न जैविक र प्राङ्गारिक मल उत्पादन गरी जैविक खेती प्रणालीलाई प्रोत्साहन गर्ने बताउनुभयो । कृषि उत्पादनको उचित मूल्य तोक्ने र प्रत्येक प्रदेशमा दुई वटा औद्योगिक केन्द्र स्थापना गर्ने पनि उहाँको धारणा छ ।

अध्यक्ष दाहालले हरेक पालिकामा एक औद्योगिक ग्राम निर्माण गर्ने, वैदेशिक रोजगारबाट फर्केका युवालाई रोजगारी र उद्योग खोल्न छुटको व्यवस्था गर्ने उल्लेख गर्नुभयो । उहाँले सरकारी कार्यालयहरूमा नेपाली उत्पादन अनिवार्य गर्ने बताउनुभयो । उहाँले १० लाख युवाहरूलाई रोजगारी दिई २० लाख युवालाई स्वरोजगार बनाउने घोषणा गर्नुभयो । माओवादीले घोषणापत्रमा पुँजीबजारको आधुनिकीकरण तथा संरचनागत सबलीकरणको कार्य शीघ्र सम्पन्न गरिने उल्लेख छ । त्यस्तै, गैरआवासीय नेपालीहरूलाई नेपालको पुँजीबजारमा लगानी खुला गर्ने कार्यलाई द्रुतताकासाथ अघि बढाइने उल्लेख गरेको छ । पुँजीबजारमा विदेशी संस्थागत लगानीलाई क्रमशः खुला गर्न आवश्यक कार्ययोजना तयार गरी लागू गरिने घोषणा गरेको छ । ‘समृद्ध किसान, देशको सान, आत्मनिर्भर कृषि, हाम्रो अभियान’ नाराका साथ कृषि क्षेत्रका विकासका योजना समेटिएको छ । कृषि वस्तुको आयात घटाउन र मुलुकको अर्थतन्त्रको आधार कृषिलाई बनाउन कृषि क्षेत्रको विकास अपरिहार्य भएको माओवादी केन्द्रको घोषणापत्रमा उल्लेख छ ।

नेकपा एसको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

त्यस्तै, सत्तारुढ दल नेकपा एसले चुनावी घोषणापत्र सार्वजनिक गर्दै १२ महिना (वर्षभर) नै कर तिर्ने करदातालाई एक महिनाको कर बराबरको रकम फिर्ता गर्ने घोषणा गरेको छ । नेकपा एसले घोषणापत्रमार्फत वर्षभर कर तिर्ने करदातालाई एक महिनाको कर बराबरको रकम फिर्ता गर्ने लगायतका प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै, नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन ल्याउन पहल गर्ने नेकपा एसका महासचिव डा. बेदुराम भुसालले घोषणा गर्नुभयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विस्तार तथा स्तरोन्नति, निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत सबै आन्तरिक विमानस्थलहरूलाई अत्याधुनिक, व्यवस्थित, सुविधासम्पन्न र सुरक्षित हुनेगरी विस्तार तथा आधुनिकीकरण गर्न पहल गरिने बताउनुभयो ।

भुसालले बाह्य र आन्तरिक पर्यटन र मागको प्रक्षेपणका आधारमा नेपाल वायुसेवा निगमका विमानको सङ्ख्या बढाइने घोषणा गर्नुभयो । उहाँले ५० करोड लगानी गर्न सक्नेलाई विदेशी लगानीकर्ता परिचयपत्र उपलब्ध गराउने योजना रहेको बताउनुभयो । महासचिव भुसालले मुलुकमा उत्पादनमूलक, रोजगारीमूलक उच्च प्रतिफलयुक्त क्षेत्रलाई विकास गर्न सरल ब्याजदरमा सार्वजनिक ऋण परिचालन गरिने उल्लेख गर्नुभयो । उहाँले नेपालको पछौटेपन, आयात आधारित राजश्वको मूल स्रोत, डरलाग्दो रूपमा बढ्दै गइरहेको व्यापार घाटा, चर्को बेरोजगारी,कृषिबाट सक्रिय जनशक्ति नेपालमा नै स्वरोजगार बनाई मुलुकलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिने बताउनु भयो ।

राप्रपाको निर्वाचन घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी पाँच वर्षमा रोजगारी र आय–आर्जनका अवसरहरू वृद्धि गरी उपभोग तथा बचत गर्ने र क्षमता वृद्धि गर्ने घोषणा गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी ५ वर्ष भित्र आर्थिक वृद्धि दर ८ प्रतिशत पुर्‍याउने बताउनुभयो । उहाँले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरूलाई राज्यबाट सुविधा र संरक्षण प्रदान गर्ने, स्वदेशी उत्पादनमा कर घटाइने र सुविधा बढाइने, कच्चा पदार्थ आयात नगरी नहुने अवस्थामा मात्रै आयात भन्सार दर र अन्तःशुल्क कम गरी स्वदेशी उद्योगहरूको उत्पादन क्षमता बढाइने घोषणा गर्नुभयो । उहाँले प्रत्यक्ष वैदेशिक लगानीकर्तालाई लगानीमैत्री वातावरणमा विश्वस्त तुल्याउन लगानीमैत्री कानुनहरूको निर्माण गर्ने, सार्वजनिक खर्च प्रणालीलाई सूचना प्रविधिमा आधारित बनाइ थप मितव्ययी र पारदर्शी बनाउने योजना ल्याउने बताउनु भयो । अध्यक्ष लिङदेनले करको संरचना र दरमा सुधार गरी कर प्रणालीलाई थप सरल, वैज्ञानिक र समन्यायिक बनाइने उल्लेख गर्नुभयो । उहाँले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरूलाई राज्यबाट सुविधा र संरक्षण प्रदान गर्ने, स्वदेशी उत्पादनमा कर घटाइने र सुविधा बढाइने, कच्चा पदार्थ आयात नगरी नहुने अवस्थामा मात्रै आयात भन्सार दर र अन्तःशुल्क कम गरी स्वदेशी उद्योगहरूको उत्पादन क्षमता बढाउने बताउनु भयो । उहाँले पुँजी बजारमा साना, स्वदेशी तथा विदेशी संस्थागत लगानीकर्ताको आकर्षण बढाइने, विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न प्रोत्साहित गरिने उल्लेख गर्नुभयो ।

यसैगरी, आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित गरी राजनीतिक दलहरूले आफ्नो पाँच वर्षे घोषणापत्र सार्वजनिक गर्ने क्रम जारी रहेको छ ।