• १२ साउन २०८१, शनिबार

डेढ करोड बढीको सम्पत्ति जलेर नष्ट

blog

फाइल तस्बिर

भक्तिविलास पोखरेल

गाईघाट, कात्तिक १४ गते । उदयपुरको त्रियुगा नगरपालिका –७ चुहाडे चोकमा रहेको एक व्यापारिक भवनमा आइतबार राति आगलागी हुँदा एक करोड ५० लाख रुपियाँ बढीको धनमाल जलेर खरानी भएको छ ।

स्थानीय राजु कार्कीको पसल भएको घरमा आगलागी हुँदा त्यहाँ रहेका तीन वटा पसलमा रहेको पाँच लाख ४६ हजार नगदसहित करिब एक करोड ५० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।  

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी राकेशकुमार पोदारका अनुसार आगलागीबाट स्थानीय पर्शुराम राईको जग्गा भाडामा लिई कार्कीले निर्माण गरेको जस्ताको छानो भएको एकतले घर र कपडा पसल, अनिल घिमिरेको एग्रोभेट, विरेन शाहको होटल तथा फलफूल पसल जलेर नष्ट भएको छ । 

प्रहरीको स्थलगत प्रारम्भिक प्रतिवेदनअनुसार कार्कीको कपडा पसल तथा फर्निचर, सुन सात तोला र नगद तीन लाख ५० हजारसमेत गरी ८० लाख बराबरको क्षति भएको छ । त्यसैगरी घिमिरेको एग्रोभेट पसलको सबै औषधि लगायतका सामानहरू गरी करिब ६५ लाख बराबरको व्यापारिक समान जलेर क्षति भएको डिएसपी पोदारले बताउनुभयो । शाहको होटल र होटलसँगै रहेको फलफूल पसल, साढे तीन तोला सुन, नगद एक लाख ९६ हजार समेत गरी २० लाख बराबरको क्षति भएको छ । 

राति सबै जना छठ पूजामा त्रियुगा नदीमा गएको समयमा विदुत सर्ट भई आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । आगलागी भएको दुई घण्टापछि त्रियुगा, चौदण्डिगढी नगरपालिका र रौतामाई गाउँपालिकाको वारुणयन्त्रको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आगो नियन्त्रणमा लिएको थियो । आगलागीमा मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।