• १९ असार २०८१, बुधबार

युवाले विकासको ढोका खोल्न सक्छन् : नरहरि आचार्य

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पाली कांग्रेसका नेता नरहरि आचार्य ।

काठमाडौं, कात्तिक १३ गते। नेपाली कांग्रेसका नेता नरहरि आचार्यले युवाले मात्र विकासको ढोका खुलाउन सक्ने बताउनुभयो।

आइतबार नेपाल लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले काठमाडौं–५ मा कांग्रेसका उम्मेदवार प्रदीप पौडेल नेतृत्वको समूह सो कार्य गर्न सक्ने दाबी गर्नुभयो ।

उहाँले कांग्रेसले सार्वजनिक गरेको घोषणा पत्र कार्यान्वयन गराउनका लागि प्रदीपले जित्नैपर्ने बताउनुभयो।आचार्यले भन्नुभयो, “अहिलेको गठबन्धन कांग्रेसले खोजेर भएको होइन, त्यस्तै परिस्थितिले उब्जाएको हो।त्यसैले गठबन्धनप्रति सबैजना जिम्मेवार बनौं ।”

पाँच वर्षयता स्वास्थ्यलाभ गरिरहनु भएका आचार्य लामो समयपछि जनतामाझ साक्षात्कारका लागि उपस्थित हुनुभएको हो।कार्यक्रममा खेलाडीलाई सम्मान गर्दै खेलाडीको मिहेनतले देशकै गरिमा बढ्ने बताउँदै उहाँले भन्नुभयो, “राष्ट्रको पहिचान गराउने एउटा सशक्त माध्यम खेल नै हो।खेलाडीले नै देशको गरिमा बढाउने हुन ।”

यसैगरी, कार्यक्रममा बोल्दै काठमाडौं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेलले  खेलकुदमा लगानी बढाएर सबै युवाको खेलकुदमा पहुँच हुने अवस्था सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

पौडेलले भन्नुभयो, “हरेक युवालाई खेलकुदसँग जोड्न चाहन्छौं।समाजमा बाहुबली नेतृत्व ल्याउने होइन, विधिवत प्रतिस्पर्धाले नेतृत्व ल्याउने हो भन्ने मान्यता समाजमा स्थापित गर्नु पर्नेछ।त्यो खेलकुदको माध्यमबाट सम्भव छ ।”



लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सचिव मनिष जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्रिकेटर पारस खड्का, फुटबलर रामचन्द्र श्रेष्ठ, मनिन्द्रराज जोशी बक्सिङका अर्जुनबहादुर केसी, पुष्पराज जोशी, पर्वतारोही पूर्णिमा श्रेष्ठ र नवौँ राष्ट्रिय खेलकुदको विभिन्न विधामा पदक विजेतासहित ४० जना खेलाडीलाई सम्मान गरिएको छ।