• १३ साउन २०८१, आइतबार

दिवा खाजा सुरु पछि विद्यार्थी भर्नादर बढ्दो

blog

बूढीनन्दा नगरपालिका–७ सिद्धेश्वरी आधारभूत विद्यालयका कर्मचारी विद्यार्थीहरूलाई दिवा खाजा खुवाउँदै । तस्बिर : शेरबहादुर सार्की

बाजुरा, कात्तिक १२ गते । जिल्लाको दुर्गम बस्तीका अधिकांश विद्यालयमा दिवा खाजा कार्यक्रम निकै प्रभावकारी बन्दै गएको छ । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा विश्व खाद्यान्न कार्यक्रमको आर्थिक सहयोगमा बाजुराका २३९ वटा विद्यालयमा  दिवा खाजा कार्यक्रम सुरु भएपछि विद्यार्थीको भर्नादर बढेकाे छ ।

बूढी नन्दा नगरपालिका –७ को सिद्धेश्वरी आधारभूत विद्यालय व्यवस्थापन समितिका सदस्य टेकबहादुर थापाले दिवा खाजा कार्यक्रमले बालबालिकाहरूलाई नियमित विद्यालयमा उपस्थित गराउँदै पढाइमा समेत सुधार ल्याएको बताउनुभयो ।उहाँले भन्नुभयो, यतिबेला बालबालिकाहरूलाई विद्यालयले विद्यालयमै खाजा खुवाउन थालेपछि उनीहरू नियमित विद्यालयमा जान मन पराउने भएपछि पढाइमा पनि सुधार आएको हो ।

बूढी नन्दा नगरपालिका –७ को सिद्धेश्वरी आधारभूत विद्यालयका छात्र किरन रोकायाले, दिउँसो भोक लागेको समय विद्यालयमै दिवा खाजा खान पाएपछि भोक लागेको बेला खाजा खान घरमा जानु नपरेको बताउनुभयो । अहिले विद्यालयमै खाजाको व्यवस्था भएपछि यो समस्या हटेको छ ।

विद्यालयमा सुरु गरिएको यो दिवा खाजा कार्यक्रमले मेरो पढाइमा पनि निकै सुधार आएको छात्र रोकायाले बताउनुभयो ।सिद्धेश्वरी आधारभूत विद्यालय शिक्षक तुला रावतले दिउँसो भोक लागेपछि पढाइ छोडेर नास्ताका लागि घरमा जाने अधिकांश साना बालबालिकाहरू अहिले विद्यालयमै नास्ता खान पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, यसरी विद्यालयमा मिल्ने खाजाको  आसले पुरा विषय पढ्न थालेपछि अहिले उनीहरूको पढाइमा सुधार आएको बताउनुभयो । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका बालबालिकाहरूको दिवा खाजा कार्यक्रमको रकम पालिकाको खातामा राखिदिने गर्दछ ।

पालिकाले त्यो रकम  सिधै विद्यालयको खातामा राख्दै आएपछि विद्यालयले त्यो रकम निकासा गर्दै विद्यार्थीहरूलाई दिवा खाजा खुवाउने गर्दछन् ।पालिकाबाट प्रति बालबालिकालाई १५ रुपियाँका दरले रकम दिने गरेको छ । त्यो रकमबाट नै विद्यालयले बालबालिकाहरूलाई बिस्कुट ,मासु चिउरा, र फलफूल खुवाउने गरेका हुन् ।

बाजुराका ७ वटा पालिकाका झन्डै १३८ विद्यालयमा विश्व खाद्यान्न कार्यक्रम र दुई वटा पालिकाका झन्डै १०१ विद्यालयमा नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक सहयोगबाट दिवा खाजा कार्यक्रम सुरु गरेको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराले जनाएको छ । 

शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख हर्कबहादुर सिंहले खाद्यान्न कार्यक्रम लागु भएका विद्यालयमा एक विद्यार्थी प्रति ८० ग्राम चामल २० ग्राम दाल १० ग्राम तेल २ ग्राम नुन गरी ११२ ग्राम खाद्यान्न कार्यक्रमले  दिने र त्यो कार्यक्रम लागु नभएका विद्यालयमा १५ रुपियाँ दिनको एक विद्यार्थी प्रति नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दिने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, विद्यालयमा यो कार्यक्रम लागु भएपछि पहिला विद्यालय छोडेका बालबालिकाहरू पनि पुनः विद्यालयमा भर्ना भएका छन् ।

Author

शेरबहादुर सार्की