• ७ जेठ २०८१, सोमबार

मानसरोवर कैलाश दर्शन गर्ने पर्यटकबाट १५ लाख राजस्व सङ्कलन

blog

हुम्ला, कात्तिक १० गते । नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरूबाट पन्ध्र लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकहरूबाट सिमकोट र नाम्खा गाउँपालिकाले सो राजस्व उठाउन सफल भएका हुन । 

भदौ ६ गतेबाट असोज १० गतेसम्म एक हजार १७५ जना भारतीय तथा अन्य देशका पर्यटक नाम्खा गाउँपालिकाको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्नुभएको थियो । सिमकोट गाउँपालिकाले पर्यटकहरू मध्य भारतीयबाट एक हजार एक सय र अन्य देशका पर्यटकहरूबाट एक हजार पाँच सय रुपियाँ पर्यटन शुल्क उठाउने गरिएको जनाएको छ ।

कोरोना पछि पहिलो पटक मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकबाट पन्ध्र लाख २७ हजार पाँच सय रुपियाँ सङ्कलन भएको गाउँपालिकाले जनाएको छ । सो उठेको शुल्क  सिमकोट गाउँपालिकाले साठी र नाम्खा गाउँपालिकाले चालीस प्रतिशत लिनेछन् । कोरोनापछि ती दुई गाउँपालिकाले पहिलो पटक पर्यटन शुल्कबाट आम्दानी गरेका छन् । आन्तरिक पर्यटकबाट भने सो शुल्क उठाउने गरिएको छैन । 

२०७२ सालको भूकम्पपछि सिमकोट गाउँपालिकाले पर्यटन शुल्कै एक करोडसम्म उठाउने गरेको थियो । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।