भिमाद (तनहुँ) । कात्तिक १० गते । तनहुँको दुई पालिका जोड्ने एक ऐतिहासिक पुल संरक्षणविहीन अवस्थामा छ । तीन सय वर्ष अघि स्थानीय फलाम खानी र स्थानीय कालिगडले भिमादमा निर्माण गरेको पुल ऐतिहासिक भए पनि संरक्षण गर्न कसैको ध्यान नपुग्दा जीर्ण बनेको छ ।
संरक्षणविहीन हुँदा भिमादको साङ्ले पुल माल पाएर चाल नपाएको वस्तु बन्दै गएको छ । भिमाद बजार निवासी उमालाल सुवेदीले ऐतिहासिक महत्त्व बोकेको झोलुङ्गे पुलको संरक्षण नहुँदा दुःख लागेको बताउनुभयो । स्थानीय कालिगडहरूले निर्माण गरेको पुल माल पाएर चाल नपाएको वस्तु बन्दै गएको उहाँ बताउनुहुन्छ ।
स्थानीय ढोरको फलामबाट बनेको उक्त पुल पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण रहे पनि उचित संरक्षण पाउन नसक्दा ओझेलमा परेको जानकारी सुवेदीले दिनुभयो भिमाद नगरपालिका ६ र म्याग्दे गाउँपालिकाको ५ जोडने सेती नदीमाथि निर्मित उक्त साङले पुलको संरक्षण गर्नुपर्ने माग भिमादका बासिन्दाहरूको छ । सोही ठाउँ नजिकै मोटरे बल पुल निर्माण भएपछि साङले पुल संरक्षणविहीन भएको हो । भिमाद नगरपालिकाको सूचना अधिकारी टेकादेवी ढकालले आर्थिक वर्ष २०७५-०७६ मा नगरपालिको ६० लाख रुपियाँ बजेट विनियोजन गरे पनि काम हुन नसकेको जानकारी दिनुभयो । कालिगडको अभावले गर्दा पुल संरक्षण गर्न कठिनाइ भएको ढकाल बताउनुहुन्छ । पुल संरक्षण नहुँदा फलामका तारहरूमा लहरे झारहरू फैलिएकोले खिया लागेको छ ।