• १२ असार २०८१, बुधबार

खेतबारीमै पुगेर भोट माग्दै उम्मेदवारहरु

blog

अमरराज नहर्की

तनहुँ, कात्तिक ९ गते । खेतमा धान पाकेर पहेंलपुर भएको हुँदा तनहुँका कृषकलाई यतिबेला धान भित्र्याउने चटारो छ । बिहान सवेरैदेखि साँझ अबेरसम्म कृषकहरु बारीमा व्यस्त रहने भएकाले भोट माग्दै घरदैलोमा पुगेका उम्मेदवार खेतबारीसम्मै पुग्न थालेका छन् । 

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेकाहरु मतदातासँग भेट गर्न घरमा जाँदा भेट नहुने भएपछि उहाँहरु खेतबारीमै पुगेर कृषकसँग भोट माग्नमा व्यस्त देखिनुभएको छ । कतिपय उम्मेदवार त कृषकसँगै धान काट्ने, झाँट्ने, पराल कुनिउँ लगाउने गरेर भोट माग्नुभएको छ ।


यसरी भोट माग्ने उम्मेदवारमा सत्ता गठबन्धनबाट तनहुँ–२ मा प्रतिनिधिसभाका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारी पनि हुनुहुन्छ । भण्डारीसँगै सो गठबन्धनका माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपाने  र ‘ख’ मा उम्मेदवार बन्नुभएका कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेसहित निर्वाचन प्रचार–प्रसारका टोलीहरु रहनुभएको छ ।

तनहुँ–२ मा उम्मेदवारको प्रचार–प्रसार अभियानका लागि निर्वाचन आयोगले  सभा, समारोह, आमसभा गर्न मतदान हुने दिनअघिको १७ दिन मात्रै गर्न पाउने नियम बनाएपछि हाल उम्मेदवार घरदैलो अभियानमा छन् । 


उम्मेदवार भण्डारीसहितको टोलीले खेतमै पुगेर कृषकसँग भोट माग्नुभएको कांग्रेस तनहुँका सदस्य डम्बरबहादुर अधिकारीले जानकारी दिनुभयो । भण्डारीले भेट्ने मात्रै नभई धान काट्ने, मुठो बाँध्ने र झाँट्ने काम पनि गर्नुभएको छ । ‘यतिबेला कृषक किसानलाई धान भित्र्याउने र परालको व्यवस्थापनमा भ्याइनभ्याई छ, कृषक दाजुभाइ दिदीबहिनी जहाँ भेटिनुहुन्छ, हामी त्यहीँ पुगेर भोट मागेका छौं’ उम्मेदवार भण्डारीले भन्नुभयो ।