• १५ असोज २०८१, मङ्गलबार

सिक्टा सिँचाइ आयोजना: १७ वर्षसम्म पनि अधुरै

blog

हाल तीव्र गतिमा निर्माण भइरहेको सिक्टाको पूर्वी नहर । तस्बिर : सिराज खान

नेपालगन्ज, कात्तिक ६ गते । आठ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको सिक्टा सिँचाइ आयोजना १७ वर्ष बित्दा पनि अझै अधुरै छ । आयोजनाको निर्माण क्षेत्र विस्तार हुँदै जाँदा बजेट र समय अवधि पनि थप हुँदै गएको छ ।

२०७० सालको माघ मसान्तसम्म निर्माण कार्य पूरा गर्ने लक्ष्यका साथ २०६२ सालमा सुरु गरिएको उक्त आयोजनाको निर्माणकार्य गत आर्थिक वर्षसम्ममा ७२ प्रतिशत पुरा भएको आयोजनाले जनाएको छ । तर, हाल आएर गुरु योजना संशोधन गरी २५ अर्ब नौ करोडको लागतमा आर्थिक वर्ष २०८४-८५ मा पूरा गर्ने लक्ष्यलाई ५२ अर्ब ८९ करोडको लागत बनाई सम्पन्न गर्ने अवधि थप गरेर २०८९-९० पुर्‍याएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर विशाल यादवले बताउनुभयो । 

यो पनि पढ्नुहोस

मत माग्न खेतमै उम्मेदवार

तीन वर्षमा पनि बनेन झोलुङ्गे पुल

उहाँले आयोजनाको पहिलो फेजको काम पूरा भएर दोस्रो फेजको काम सुरु हुँदा बजेट र अवधि दुवै थप भएकोले प्रतिशतमा पनि फरक पर्ने बताउनुभयो । इन्जिनियर यादवका अनुसार सुरुमा १२ अर्ब ७० करोड लागतमा ८ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएकोमा पछि क्षेत्र समेत विस्तार गरिँदै गएपछि गुरुयोजना परिमार्जन गरी २५ अर्ब ९ करोडको लागतमा आर्थिक वर्ष २०८४-८५ मा पूरा गर्ने लक्ष्य तय गरिएको थियो । तर, हाल आएर सो समयमा पनि पूरा नहुने निष्कर्षका साथ समय र बजेट थप गरेर २०८९-९० मा पुरा गर्ने गुरुयोजना संशोधन गरिएको छ । 

यो पनि पढ्नुहोस

सहकारीका पाठ्यक्रम प्रमाणीकरण अनिवार्य

फूलमा स्वनिर्भरको प्रयास

आर्थिक वर्ष २०७९-८० सम्म आइपुग्दा १९ अर्ब ३४ करोड रुपियाँ खर्च गरेर आयोजनाको निर्माण कार्य ७२ प्रतिशत सकिएको छ । पछिल्ला वर्षहरूमा बर्सेनि डेढ अर्ब भन्दा बढी बजेट विनियोजन हुने र विनियोजित बजेट पनि खर्च गर्न नसक्ने अवस्थाले आयोजनाको लागत र समय दुवै बढ्दै गएको तर लक्षित किसानले आवश्यक सिँचाइ सुविधा नपाइ रहेको अधिकांश किसानको गुनासो छ । गत आर्थिक वर्ष २०७८-७९ मा पनि सिक्टाका लागि विनियोजन भएको एक अर्ब १९ करोड ३७ लाख बजेटमध्ये काम हुन नसक्दा २६ करोड ५८ लाख रुपियाँ फ्रिज भएको थियो । 

यो पनि पढ्नुहोस

पुष्प व्यवसायबाट मनग्य आम्दानी (फोटो फिचर)

मधेशमा चुनावी सरगर्मी

कछुवा गतिको काम गराइले लक्ष्य अनुसार काम हुन नसक्दा लगानी बढ्दै गएर एकातिर देशले ठूलो आर्थिक भार खेप्नुपरेको र अर्कोतिर लामो समयदेखि सिंचाइको आसमा बसेका किसानले निराशा भोग्नुपरेको विडम्बना रहेको विकासका लागि नागरिक सरोकार समिति बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।  निर्माण सम्पन्न गर्न लाग्ने समय र लागत खर्च बढाइए पनि नहर निर्माणको कामले अझै गति लिन सकेको छैन । चालु आर्थिक वर्ष २०७९-८० मा आयोजनाले पुँजीगततर्फ एक अर्ब ८५ करोड बजेट पाएको आयोजनाले जनाएको छ । 

यो पनि पढ्नुहोस

गठबन्धन फकाउँदै एमाले भने कठोर

१६ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ निर्माणकार्य सुरु भएको डढुवा शाखा नहरको निर्माणकार्य आयोजना र निर्माण कम्पनी कोष्टल पप्पु जेभी बीचको विवाद र मुद्दा मामिलाका कारण चार वर्षदेखि अलपत्र छ । जसका कारण डढुवा शाखा नहरको कमान्ड क्षेत्रमा पर्ने बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकासहित डढुवा, जानकी र खजुरा गाउँपालिकाका हजारौँ किसान सिँचाइ सुविधाबाट वञ्चित छन् । 

Author

सिराज खान