• १५ असोज २०८१, मङ्गलबार

दाङ निर्वाचन क्षेत्र नं. २

पोखरेल र शर्माबीच प्रतिस्पर्धा

blog

लीलाधर वली 

घोराही, कात्तिक ६ गते । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारले चुनावी प्रचारप्रसार सुरु गरिसकेका छन्। चुनावी गतिविधि बढिरहँदा दाङ जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. २ चर्चामा रहने गरेको छ। 

यो निर्वाचन क्षेत्रमा नेकपा एमालेका महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शङ्कर पोखरेल र सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट पूर्वमन्त्री रेखा शर्माबीच प्रतिस्पर्धा हुँदै छ। यस क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्रसहित १४ जनाले उम्मेदवारी दर्ता गराए पनि मुख्य प्रतिस्पर्धा भने महासचिव पोखरेल र शर्माबीच हुने अनुमान गरिएको छ। गठबन्धनबाट उम्मेदवार बन्नुभएकी शर्मा २०६४ र २०७४ सालमा समानुपातिक सांसद हुँदै मन्त्रीसमेत बन्नुभएको थियो। माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा यस पटक निर्वाचन नलड्ने भएपछि सत्ता गठबन्धनबाट शर्मा उम्मेदवार बन्नुभएको हो।

२०७४ सालको निर्वाचनमा क्षेत्र नं. २ (क)बाट वाम गठबन्धनका तर्फबाट प्रदेश सभा निर्वाचित हुनुभएका पोखरेल अहिले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्नुभएको छ। यो क्षेत्रमा बङ्गलाचुली गाउँपालिका सँगै घोराही उपमहानगरपालिकाका ४, १३, १४, १५, १८ र १९ र तुलसीपुर उपमहानगरकाअन्तर्गतका १६, १७, १८ र १९ नं. वडा रहेका छन्। स्थानीय निर्वाचनमा गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गरेको एमालेले घोराही उपमहानगरको प्रमुख र उपप्रमुखसहित अधिकांश वडामा विजयी हासिल गरेको थियो। स्थानीय तहको मतका आधारमा एमाले उम्मेदवार पोखरेल डराउनुपर्ने अवस्था नरहेको एमाले नेताहरूको बताउनुहुन्छ। 

सत्ता गठबन्धन दलहरू भने स्थानीय तह निर्वाचनको प्राप्त मत परिणामअनुसार गठबन्धन अगाडि रहेकाले निर्वाचनमा कांग्रेसका मतदाता गठबन्धनको पक्षमा इमानदार देखिए सजिलै जितिने आकलन गर्छन्।