• १३ साउन २०८१, आइतबार

अरिङ्गालले चिलेर एकको मृत्यु

blog

अमरराज नहर्की 

तनहुँ, कात्तिक २ गते । अरिङ्गालले चिलेर तनहुँमा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । व्यास नगरपालिका –११ रानीगाउँ निवासी ६७ वर्षीय गङ्गाप्रसाद सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी वरिष्ठ नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिनुभयो । 

सुवेदीलाई व्यास नगरपालिका –१ तालघरेमा अरिङ्गालले चिलेपछि सिकिस्त बिरामी हुनुभएका सुवेदीको दमौली अस्पतालमा उपचारको क्रममा निधन भएको उहाँले जानकारी दिनुभयो । रेग्मीका अनुसार अरिङ्गालले चिलेर व्यास नगरपालिका १० डिहीगाउँ बस्ने वर्ष ५८ को प्रेमराज मिश्र, बैरेनी बस्ने वर्ष १७ का कुशल परियार, वडा ११ को रानीगाउँ बस्ने वर्ष २९ को सुजन अधिकारी, पोल्याङ बस्ने वर्ष ३८ को राजकुमार सिलवाल (बिक) घाइते हुनुभएको छ । 

यसैगरी वडा १ तालघरे बस्ने वर्ष २१ को पोषण खड्का, वडा २ बस्ने वर्ष ५० को रुमबहादुर थापा, वडा १ बस्ने वर्ष २७ को ललिता अधिकारी घाइते हुनुभएको छ । घाइतेको दमौलीमा उपचार भइरहेको छ । उहाँहरूको स्वास्थ्यमा सुधार हुँदै गइरहेको प्रहरीले जनाएको छ ।