• १३ साउन २०८१, आइतबार

सङ्कटग्रस्त जिल्लामा पु-याइयो राहत

blog

ललित बसेल

सुर्खेत, कात्तिक १ गते । बाढीपहिरोले क्षति पु-याएका कर्णालीका सङ्कटग्रस्त क्षेत्रमा राहत पु-याइएको छ । असोज १९ गतेदेखि परेको वर्षाले क्षति पु-याएका स्थानलाई सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । कर्णालीका चार जिल्लामा प्रदेश सरकारले हेलिकोप्टरबाट अत्यावश्यकीय राहत सामग्री पु-याएको हो । 

मुगु, कालीकोट, हुम्ला र जुम्लामा असोज २५ गतेदेखि असोज २९ गतेसम्म हेलिकोप्टरले अत्यावश्यकीय राहत पु¥याएको जनाइएको छ ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपत् व्यवस्थापन शाखाका अनुसार सङ्कटग्रस्त जिल्लामा हेलिकोप्टरबाट र अन्य जिल्लामा सडक यातायातबाट खाद्य तथा गैरखाद्य सामग्री पु¥याइएको छ । 

शाखा प्रमुख एवं सूचना अधिकारी कृष्णबहादुर रोकायाले असोज २५ देखि २९ गतेसम्म ११ वटा उडानबाट खाद्य तथा गैरखाद्य सामग्रीहरू प्रदेश सरकारका तर्फबाट पु-याइएको जानकारी दिनुभयो । उहाँका अनुसार त्रिपाल, कम्बल, हाइजिन किट, चालम, साबुन, बाल्टिनलगायतका अत्यावश्यक सामग्री पठाइएको छ ।

जुम्लामा ४१५ त्रिपाल, चार सय कम्बल, दुई सय सेट हाइजिन किट, कालीकोटमा ९० थान त्रिपाल, १७० थान कम्बल, ७० सेट हाइजिन किट र १० क्विन्टल चामल पठाइएको छ । यस्तै मुगुमा ३०४ थान त्रिपाल, ३१५ थान कम्बल, २३० सेट हाइजिन किट तथा हुम्लामा १५५ थान त्रिपाल, दुई सय थान कम्बल र ६० सेट हाइजिन किट पठाइएको विपत् व्यवस्थापन शाखा प्रमुख रोकायाले जानकारी दिनुभयो । यसका साथै बाल्टिन, साबुन, चाउचाउ, चिउरासमेत पठाइएको छ ।

उहाँले हेलिकोप्टरबाट राहत पठाइएपछि मौसममा पनि सुधार आएकाले गाडीबाट अन्य सामान पठाउन थालिएको बताउनुभयो । दैलेखलगायतका जिल्लामा पनि गाडीबाट खाद्य तथा गैरखाद्य सामग्रीहरू अझै पनि पठाइरहेको उहाँको भनाइ छ । हेलिकोप्टरबाट राहत पु¥याउने क्रममा उताबाट बाढीपहिरोमा परी घाइते भएका र ज्येष्ठ नागरिकलाई उद्धार गरी ल्याइएको छ । शाखा प्रमुख रोकायाले करिब ३८ जनालाई ती स्थानबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको बताउनुभयो ।

कर्णाली प्रदेशमा बाढीपहिरोमा परी आइतबारसम्म ३७ जनाको मृत्यु भएको थियो । घटनामा १९ जना बेपत्ता भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा धेरै जुम्लामा मृत्यु भएको थियो । जुम्लामा १० जना, मुगुमा आठ जना, कालीकोटमा सात जना, हुम्लामा चार जना, सल्यान र जाजरकोटमा तीन÷तीन जना तथा दैलेख र डोल्पामा एक÷एक जनाको मृत्यु भएको जनाइएको छ । यस्तै कालीकोटका १६ जना तथा डोल्पा, जुम्ला र दैलेखका एक÷एक जना गरी १९ जना हालसम्म बेपत्ता रहेको बताइएको छ । यसैगरी पहिरोमा परेर २८ जना घाइते भएका छन् ।

पहिरोमा परी ७७६ घर पूर्णरूपमा क्षति, एक हजार १६३ घरमा आंशिक क्षति, ४४० घर उच्च जोखिममा रहेको, ८७० घरपरिवारका सात हजार १५९ जना विस्थापित भएको, १५१ पशुचौपाया क्षति भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । उद्धारका लागि दुई हजार २२० जना प्रहरी परिचालन गरिएको छ ।

यसैगरी, पहिरोले क्षति पुगेको कर्णाली राजमार्गको दैलेख, कालीकोट, जुम्ला, नाग्म–गमगढी सडक मर्मत गरी सञ्चालनमा ल्याउन पनि मन्त्रालयले सम्बन्धित कार्यालयलाई निर्देशन दिइसकेको छ । विपत् शाखा प्रमुख रोकायाले मौसममा सुधार आएकाले सडक मर्मतको काम पनि धमाधम भइरहेको र सडकबाट राहत पु¥याउने काम पनि जारी राखिएको जानकारी दिनुभयो ।