• ११ असोज २०८१, शुक्रबार

आचारसंहिता कार्यान्वयन संयन्त्रले काम नगरेको गुनासो

blog

रामेछाप समाचारदाता

रामेछाप, असोज ३१ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको आचारसंहिता कार्यान्वयनका लागि रामेछापमा बनेका संयन्त्रहरूले प्रभावकारी काम गर्न नसकेको गुनासो गरिएको छ। 

आइतबार जिल्ला निर्वाचन कार्यालय रामेछापले सदरमुकाम मन्थलीमा गरेको निर्वाचन आचारसंहिता तथा निर्वाचन तयारीसम्बन्धी अन्तक्र्रिया कार्यक्रमका सहभागीहरूले यस्तो गुनासो गरेका हुन्। कार्यक्रममा सहभागी उम्मेदवार, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचनका लागि निर्वाचन आयोगले बनाएको आचारसंहिता राम्रो भए पनि कार्यान्वयन पक्ष निकै फितलो भएको गुनासो गरे। 

कार्यक्रमका सहभागीहरूले जिल्लामा काम चलाउनका लागि मात्रै बनेका आचारसंहिता कार्यान्वयन संयन्त्रहरूले अहिले नै आचारसंहिता उल्लङ्घन हुँदासमेत नदेखेझैँ गरेको गुनासो गरेका छन्। सहभागीहरूले आचारसंहिताविपरीत निर्वाचन प्रचारमा स्थानीय तहका जनप्रतिनिधिहरूले स्थानीय स्रोतसाधनहरूको प्रयोग गरिरहेको, उम्मेदवारी दर्ताकै दिन दल तथा उम्मेदवारहरूले तामझाम देखाएर आचारसंहिता उल्लङ्घन गरे पनि उनीहरूमाथि कुनै कारबाही हुन नसकेकोलगायतका गुनासो गरेका छन्। 

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन गर्न नसक्दा धेरै मत बदर हुनेजस्ता समस्याहरू आएकाले यो निर्वाचनमा प्रभावकारी मतदाता शिक्षाको माग कार्यक्रममा गरिएको थियो। जिल्ला निर्वाचन अधिकारी मुकरकुमार साहले जिल्लामा निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि बनेका संयन्त्रहरूबाट कडा अनुगमन हुने बताउनुभयो। विगतको अनुभवलाई मध्यनजर गरी मतदान हुनेभन्दा १५ दिन अगाडिबाट मतदाता शिक्षा सञ्चालन गर्ने निर्वाचन आयोगको तयारी रहेको उहाँले बताउनुभयो। 

रामेछापका प्रमुख जिल्ला अधिकारी प्रभाखर रेग्मीले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्नेबारेमा राजनीतिक दलहरूबाट सकारात्मक प्रतिबद्धता आएको बताउनुभयो। “आचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्न जिल्ला प्रशासनलगायत अन्य संयन्त्रहरू सचेत छौँ, यो समयमा स्थानीय तहका जनप्रतिनिधिहरूबाट हुनसक्ने स्थानीय स्रोतसाधनको दुरुपयोगप्रति पनि हाम्रो ध्यान गएको छ”, उहाँले भन्नुभयो।  

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश उर्मिला शर्माले निर्वाचन स्वच्छ, निष्पक्ष र धाधलिरहित हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्नुभयो। आगामी निर्वाचनका लागि रामेछापमा एक लाख ८० हजार १०६ जना मतदाता रहेका छन्। यो निर्वाचनमा जिल्लामा ९६ मतदानस्थल र २२६ वटा मतदान केन्द्र निर्धारण भएको छ। निर्वाचन आयोगले गत स्थानीय तह निर्वाचनमाभन्दा यो निर्वाचनमा चारवटा मतदान स्थल र तीनवटा मतदान केन्द्र थप गरेको छ।

आचारसंहिताको पालना गराउने

 मकवानपुर समाचारदाताका अनुसार बागमती प्रदेशस्तरीय सुरक्षा समितिको बैठकले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको क्रममा निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्ने र गराउने निर्णय गरेको छ। 

समितिको हेटौँडामा बसेको बैठकले आसन्न निर्वाचनका लागि सुरक्षा संवेदनशीलताअनुसार निर्वाचन क्षेत्रहरूको सुरक्षा योजना बनाउने, निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गराउने, प्रदेशको शान्तिसुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणका लागि सबै सुरक्षा निकायबीच समन्वयकारी संयन्त्र परिचालन गरी अघि बढ्ने निर्णय गरेको हो।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको उपस्थितिमा बसेको बैठकमा बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौला, नेपाली सेना मध्यपृतना हेडक्वार्टरका पृतनापति उपरथी होमनाथ दवाडी, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक किरण वज्राचार्य, सशस्त्र प्रहरी बल नं.३ गढीमाई बाहिनी प्रमुख लक्ष्मण सिंहलगायतको सहभागिता थियो।