• १५ वैशाख २०८१, शनिबार

मखमलीले सजिएको गुन्डु (फोटो र भिडियो)

blog

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँमा मखमली फूल टिप्न व्यस्त स्थानीय । तस्बिर : कविता थापा र न्यूज एजेन्सी नेपाल

काठमाडौं, असोज २८ गते । यतिबेला भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँ मखमली, सयपत्री र गोदावरीको सुगन्धले मगमगाएको छ । तिहार आउन करिब १२ दिन बाँकी रहँदा यहाँका किसान, गृहिणीलगायत फूल व्यावसायी फूल टिपेर माला उन्न व्यस्त देखिन्छन् । यस क्षेत्रका खेतबारी, करेसाबारी रङ्गिन फूलले छपक्क छोपेको छ भने स्थानीयवासीलाई फूल टिप्ने, माला बनाउने चटारोले भ्याइनभ्याइ छ  ।


गुन्डुमा करिब २० वर्षदेखि फूलखेति गर्न सुरु गरिएको भए पनि १० वर्षदेखि व्यावसायिक रूपमा फूल खेती गर्न थालिएको हो । सयपत्री फूलको मालामा भन्दा पनि मुठ्ठामा बिक्री भइरहेको छ भने मखमली मालाको व्यापारीहरू घर–घरमा नै पुगेर एउटा मालाको २५ रूपियाँमा लिने गरेका छन् ।

किसानले खेतमा धानका साथै नगदेबालीका रूपमा फूल रोपेर व्यापार गर्दै आएको स्थानीयहरुको भनाइ छ । यो क्षेत्रका किसानले असार, साउनदेखि नै मखमली फूल टिपेर माला गाँस्न थाल्छन् । बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काम साउन यता स्थानीयहरुको दिनचर्या बनेको छ ।


किसानहरु एक/अर्कामा अर्मपर्म गरेर मखमलीको खेती गर्दछन् । नेपालीहरुको सांस्कृतिक पर्व तिहारमा विशेष माग हुने र नजिकको बजार (काठमाडौं) लाई पायक बनाइ माला उन्ने काम गरिरहेको स्थानीयवासीले बताए ।

फूलकै माध्यमबाट गाउँमै राम्रो आयआर्जन भएको स्थानीय नारायणी खत्री बताउनुहुन्छ  । गत वर्षको जत्ति नै मखमली फूल लगाएको र अहिले माला उन्ने क्रम धमाधम चलिरहेको जानकारी दिनुभयो ।


तिहारको समय भएकाले फूल र माला बेच्नको लागि बजार धाइराख्नु नपर्ने उहाँको भनाइ छ । घरमा त्यत्तिकै बसिरहनुभन्दा घरमा नै बसेर कुनै काम गर्दा खर्चका लागि पैसा जुट्ने बताउनुभयो । तिहारको बेलामा आफूले पाँच हजारसम्म मखमली फूलका माला उन्ने गरेको बताउनुभयो ।

त्यस्तै, अर्की एक स्थानीयले गाउँघरमा फूल लगाउनका लागि धेरै लगानी पनि नलाग्ने र आम्दानी पनि दोब्बर हुने बताउनुभयो । गाउँघरमा अर्मपर्म गरेर फूल लगाउने काम भइरहेको जानकारी समेत उहाँले दिनुभयो ।


उहाँले एक रोपनी जग्गामा फूल लगाउन चार हजारसम्मको लगानी लाग्ने बताउनुभयो । उहाँले दशैं अघिसम्म प्रतिमाला २० रुपियाँमा बिक्री गरेपनि तिहारको बेलामा भने प्रतिमाला ३० रुपियाँमा घरबाटै बिक्री गर्न सकिने बताउनुभयो ।

तिहारका लागि आवश्यक फूल उत्पादन हुने सो क्षेत्रका किसानका लागि बजारको समस्या भने नभएको स्थानीयहरुको भनाइ छ । विशेषगरी, राजधानीका फूल व्यावसायी घरमै माला किन्न आउने र माला उनेर ठीक पारेपछि प्रतिमाला ३० रुपियाँसम्म घरबाटै बिक्री हुने भएकाले बजारको समस्या नभएको स्थानीयहरु बताउँछन् । फूलको व्यापार र बजार बढेपनि नेपालमा उत्पादित फूलले चाडबाडको बेला बजार धान्नसक्ने स्थिति अझै छैन ।