• ६ जेठ २०८१, आइतबार

दुर्गमका स्वास्थ्य चौकी: टुकीको भरमा बिरामीको उपचार

blog

टुकी बालेर बिरामीको उपचार गर्दै स्वास्थ्यकर्मी रोकाया । तस्बिर: राजन रावत

हुम्ला असोज २७ गते । स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीलाई टुकीकै भरमा उपचार गर्नु पर्ने बाध्यता छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा एउटा सोलर बत्तीसमेत नभएपछि सेवाग्राही र कर्मचारीले सस्ती खेप्नुपरेको छ । 

रातीको समयमा आउने सुत्केरी तथा अन्य आकस्मिक उपचारका लागि आउने बिरामीलाई टुकी  बालेर उपचार गर्नुपर्ने बाध्यता आइलागेको छ । स्वास्थ्य चौकीमा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम साना जलविद्युुत् आयोजनाको विद्युत् सेवा दश दिनदेखि बन्द भएपछि स्वास्थ्यकर्मीलाई टुकी  बालेर उपचार गर्नुपरेको हो । 

सिमकोट गाउँपालिका–७ को डाँडाफया स्वास्थ्य चौकीकी वरिष्ठ अनमि रमिता रोकायाले विद्युत् नभएपछि हाल दैनिक रूपमा रातीको समयमा टुकी बालेर बिरामीको उपचार गर्नुपरिरहेको बताउनुभयो । हिल्दुुम विद्युत् वितरण केन्द्रको विद्युत् दश दिनदेखि अवरुद्ध हुँदै आएपछि स्वास्थ्य चौकीलाई यो बाध्यता आइलागेको हो । उहाँले लगातार वर्षा भएको कारण झरो बालेर उपचार गर्न नसकिने भएपछि टुकी  बालेर उपचार गर्ने कार्य भइरहेको बताउनुभयो । 

स्वास्थ्यकर्मीलाई रातीको समयमा विशेष गरी सुत्केरी र अन्य इमरजेन्सी बिरामीको उपचारमा समस्या हुने गरेको छ । स्वास्थ्य चौकीमा सोलारको व्यवस्था नहुँदा विद्युत् नभएको बेला अन्य विकल्पबाट उज्यालो गर्न सकिने अवस्था छैन । इन्भर्टर लगायतका वैकल्पिक व्यवस्था गर्न सेवाग्राहीले सरकारसँग माग गरेका छन् । यो समस्या सिमकोट र खार्पुनाथ गाउँपालिका अन्य सात वटा स्वास्थ्य चौकीमा पनि उस्तै समस्या छ । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।