टीकापुर असोज २४ गते । कर्णाली नदीमा बाढीले खतराको तह पार गरेको छ । गेज रिडर पार्वती गुरुङका अनुसार सोमबार बिहान ८ः३० बजे बाढी १२.२ मिटर पुगेको छ । आज बिहान ४ः०० बजे १२.३५ मिटर पुगेको बाढी अलि घटेको छ । कर्णाली नदीमा बाढी १०.८० मिटर पुग्नुलाई खतराको तह मानिन्छ ।
अविरल वर्षाले लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानीमा चिसापानीका डम्बर गिरी, परशुराम भण्डारी लगायतका पाँच वटा घर भत्किएका छन् । भण्डारीको घर जोखिममा रहेकाले आइतबार नै अर्को घरमा सारिएको थियो भने गिरीको घरको राति एकपट्टिको भित्ता भत्किएपछि छिमेकीको घरमा सरेका रेडक्रसकर्मी मार्कण्डेय उपाध्यायले जानकारी दिनुभएको छ । जल तथा मौसमविज्ञान विभागको विवरण अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाहरूमा भारी वर्षा भएको छ ।
बाढीले विस्थापन बढाउँदै
कर्णालीमा बाढी बढेपछि जानकी गाउँपालिकाको वडा नम्बर ९ पाता भार, वडा नम्बर ६ को कैशालेश्वरबाट पानी बस्तीतिर पसिरहेको छ । जानकी गाउँपालिका वडा नम्बर ९ कुन्तीका बासिन्दा अरुणोदय मावि खैरिफाँटामा सारिएका छन् । मूर्तिया, धनुवाँफाटा गाउँमा पनि बाढी पसेको छ । मुनवाठाँणा भन्ने स्थानबाट कर्णालीको बाढी पसेपछि २५ वटा परिवारले घर छाडेका र उनीहरू मध्ये केही राष्ट्रिय मावि पाताभारको माथिल्लो तलामा बसिरहेका वडाध्यक्ष खगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
कर्णालीको बाढी पसेर रानी कुलामा आएको बाढीले टीकापुर नगरपालिका वडा नम्बर १ को शक्ति नगर, वडा नम्बर २ को विजय नगरमा सयौँ घरहरू डुबिराखेको र चिसापानीमा राति १२.३५ मिटर मापन भएको बाढी पुग्यो भने धेरै क्षति हुन सक्ने भएकाले मानिसहरूलाई घर छोड्न लगाइरहेको वडा नम्बर २ का वडाध्यक्ष दीपक चौधरीले बताउनुभयो । बाढीको त्रासले घर बस्न नसकेपछि बाढी पसेको ठाउँमा आएको राजीपुरका बाधे परियाले बताउनुभयो । माथिबाट पसेको बाढीले दक्षिणतिर वडा नम्बर ५ को बसन्ता, मनिकापुर, नुक्लीपुरका घरमा बाढी पसेको वडा नम्बर ५ का वडाध्यक्ष बलवीर थारुले जानकारी दिनुभयो ।
टीकापुरका वडा नम्बर ८ का बनगाउँ, फाँटा, बञ्जरियाका घरहरू चुवानमा परेका र उनीहरू केही उच्चा घर, केही सडकमा बसिरहेका वडा नम्बर ८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले जानकारी दिनुभयो । टीकापुरमा बाढी बढ्न सक्ने भन्दै यहाँका जनप्रतिनिधिहरू, कर्मचारी, नगर प्रहरी उच्च सतर्कता अपनाउन बस्ती बस्तीमा खटिरहेका नगरपालिकाको विपद् व्यवस्थापन शाखाका प्रमेख निर्मला चौधरीले जानकारी दिनुभयो ।
भजनीको विस्थापन कायमै
असोज १९ गते बुधवार राति देखी भइरहेको अविरल वर्षाले भजनी नगरपालिकामा शुक्रवारदेखि नै मानिसहरू विस्थापित भइरहेका छन् । विस्थापितहरू विद्यालय र हुलाकी राजमार्गमा बसिरहेका छन् । भजनीलाई मोहना, काँडा, कान्द्रा र पथरैयामा आएको बाढीले डुवान गरिरहेको छ ।
दौलतपुरमा कर्णाली नदी फुटेर बर्दियाको राजापुरतिर पसेको छ । बाढीले राजापुरको दौलतपुर,भलादीपुरा चनौरा चुवानमा पारेको स्थानीय पत्रकार विक्रम कायस्थले जानकारी दिनुभयो ।
जल तथा मौसम विभाग बाढी पूर्वानुमान महाशाखाको विवरण अनुसार सोमबार पनि वर्षा जारी रहने अनुमान छ । कर्णालीमा आजको बाढी यस वर्षकै उच्च हो ।