गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २३ गते । नेपालका लागि अमेरिकाका नयाँ राजदूतका रूपमा डिन रिचार्ड थम्पसन आउनुहुने भएको छ । उहाँ अमेरिकी विदेश मन्त्रालयको वरिष्ठ कूटनीतिज्ञका रूपमा चिनिनुहुन्छ । यसअघिका राजदूत -यान्डी डब्लु बेरीको कार्यकाल सकिएसँगै अमेरिकी सरकारले थम्पसनलाई नेपालको राजदूतको जिम्मेवारी प्रदान गरेको हो । अमेरिकाको विदेश मन्त्रालयले जनाएअनुसार उहाँ छिट्टै पदभार ग्रहण गर्न नेपाल आउनुहुनेछ ।
विदेश सेवामा लामो समयको अनुभव सँगाल्नुभएका थम्पसन सन् २०२१ देखि अमेरिकाको विदेश मन्त्रालयस्थित दक्षिण तथा मध्य एसियाली मामिलाका लागि प्रमुख उपसहायक विदेशमन्त्रीका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
उहाँले कार्यवाहक विदेशमन्त्रीको पद पनि सम्हाल्नुभएको थियो । आफ्नो कूटनीतिक सेवाका क्रममा भारत, रोमानियालगायतका देशमा रहेर काम गरिसक्नुभएका थम्पसन अमेरिकी रक्षा मन्त्रालय मातहत रहेर दक्षिण कोरियाका लागि सुरक्षा सहायता सचिवका रूपमा अनुभव सँगाल्नुभएको थियो ।
राजदूतका लागि अमेरिकामा शपथ लिनुभएपछि उहाँले नेपालमा आफ्नो जिम्मेवारी पूरा गर्न तयार रहेको प्रतिक्रिया दिनुभएको छ । गत बुधबार बसेको अमेरिकी सिनेटको विदेश सम्बन्ध समितिको सार्वजनिक सुनुवाइमा उहाँले सो प्रतिक्रिया दिनुभएको हो । नेपालमा रहँदा आफूले नेपाली नागरिक र यहाँका बासिन्दाको अधिकारका लागि पहल गर्ने बताउनुभयो । उहाँले नेपालका दलित, सीमान्तकृत समुदायका साथै विभिन्न मुलुकका शरणार्थी समुदायका लागि अर्थपूर्ण समावेशीकरण, आर्थिक अवसर र मानवीय सहयोगलाई प्रवर्धन गर्ने नीति कार्यान्वयन गर्न नेपाल सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
पूर्वराजदूत -यान्डी बेरीले नेपालबाट बिदाइ हुनुअघि आफ्नो जीवन कथाको एउटा अध्यायमा नेपाली र अमेरिकी सम्बन्धको इतिहास पनि समावेश भएको प्रतिक्रिया दिनुभएको छ । व्यक्तिगत रूपमै अनेकौँ माया, सद्भाव र सत्कारका क्षण अनुभव गर्न पाएकोमा उहाँले आभार व्यक्त गर्नुभएको छ ।