देउखुरी, असोज २२ गते । लगातारको वर्षाका कारण राप्ती नदी बस्तीमा पसेपछि डुबानमा परेका दाङ देउखुरीका १०३ जनालाई उद्धार गरिएको छ । नेपाली सेना र सशस्त्र प्रहरीले देउखुरीका विभिन्न स्थानबाट उद्धार गरी सुरक्षित स्थानमा राखेको छ ।
दाङको लमही नगरपालिका वडा नं ८ धन पुरुवाबाट ८० जना, गढवा गाउँपालिका वडा नं ६ बोधिपुरबाट २० जना लमही नगरपालिका वडा नं २ बन कट्टाबाट तीन जनाको उद्धार गरिएको दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्री पुनले जानकारी दिनुभयो । बाढीका कारण लमही नगरपालिका वडा नं ८ को धन पुरुवा गाउँ नै प्रभावित भएको छ ।
अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआए पनि घरमा राखिएको अनाज पशु चौपाया बगेको प्रहरीले जनाएको छ । यस्तै दाङ जिल्लाभर प्राप्त भएको तथ्याङ्क अनुसार दुई सय छ घरमा पूर्ण क्षति भएको छ दुई हजार नौ सय ५२ घर डुबानमा परेका छन् । अहिले पनि उद्धारको काम भइरहेकोले क्षतिको पूर्ण विवरण आउन सकेको छैन । बाढीमा फसेकाको डुङ्गाबाट उद्धार गरिएको थियो । उद्धारमा नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी,स्थानीय सङ्घसंस्थाले सक्रियता देखाएका छन् ।
दाङको लमही नगरपालिका विपत् व्यवस्थापन समितिको बैठक बसी प्रारम्भिक राहत र क्षतिको विवरण सङ्कलन गर्न बाढी प्रभावित क्षेत्रमा पुगेको छ । बाढी तथा डुबान क्षेत्रबाट उद्धार गरिएकाहरूले आफन्तको घरमा शरण लिएका छन् ।