• ७ जेठ २०८१, सोमबार

लिम्बूहरुको ऐतिहासिक निशान नाच प्रदर्शन

blog

पाँचथरको याङ्वरक गाउँपालिका–४ थर्पूमा निशान नाच प्रदर्शन गरिँदै । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज १८ गते । छिमेकी जिल्ला पाँचथरको थर्पूमा लिम्बू समुदायको इतिहास बोकेको ऐतिहासिक निशान नाच प्रदर्शन गरिएको छ । मङ्गलबार याङ्वरक गाउँपालिका –४ थर्पुस्थित कालिका भगवती मन्दिर परिसरमा निशान नाच प्रदर्शन गरिएको हो । 

प्रत्येक वर्ष बडादशैंको महानवमीका दिन निशान नाच प्रदर्शन गर्ने गरिएको छ । सोहीअनुसार यस वर्ष पनि लिम्बू समुदायले नाच प्रदर्शन गरेका हुन् । विगतमानझैँ यस वर्ष पनि थर्पुको मौलोकालिका मन्दिर परिसरमा भव्यरुपमा निशान नाच प्रदर्शन गरिएको स्थानीय लभहाङ तावाले जानकारी दिनुभयो । 

लिम्बू समुदायको इतिहासको प्रतीकको रूपमा रहेको निशान नाचसँगै नगरा बाजा, युद्धकालीन समयमा प्रयोग भएका भाला, खुँडा, खुकुरी र तरबारजस्ता हतियारहरू प्रदर्शन गर्ने गरिएको छ । इतिहासको प्रतीक स्वरूप निशान प्रदर्शन गर्ने गरिएको लिम्बू समुदायका स्थानीय अगुवा बताउँछन् । 

यता निशान जात्राको दृश्यावलोकन र दर्शनले दुर्गा भवानीको शक्ति प्राप्त हुने जनविश्वास पनि रहिआएको स्थानीय बृद्धबृद्धाहरुको भनाइ छ । नेपाल एकीकरणका समयमा तत्कालीन राजा पृथ्वीनारायण शाहले पल्लो किराँतका लिम्बूहरूलाई उपहार स्वरूप श्रीजङ्ग र कम्फु नामको दुई वटा निशान छाडेको भनाइ छ । 

राजा पृथ्वीनारायणले उपहार स्वरूप छाडेको सोही निशानको प्रतीक पूर्वमा बसोबास गर्दैआएका लिम्बू समुदायले पाँचथरको थर्पुसहितका केही ठाउँमा दशैंको नवमीका दिन प्रदर्शन गर्ने गरेका छन् । थर्पूमा प्रदर्शन गरिने निशानको दृश्यावलोकन गर्न पाँचथर लगायत ताप्लेजुङ, तेह्रथुम र इलाम जिल्लाका सर्वसाधारणको जमघट हुनेगरेको छ । दशैं घटस्थापनादेखि किराँत लिम्बूको परम्पराअनुसार निशानको पूजा सुरु गरिन्छ । महानवमीको दिन प्रदर्शन गरेर निशान थन्क्याउने चलन छ ।